काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदैछ । राजनीतिक दलहरूले आजदेखि समानुपातिकतर्फका उम्मेदवारको सूची बुझाउँदैछन् ।
निर्वाचन आयोगले आज र भोलि समानुपातिकतर्फको बन्दसूची पेस गर्न समय दिएको छ । आयोगले अबको केही दिनभित्रै निर्वाचन आचारसंहिता पनि लागू गर्ने तयारी गरेको छ । निर्वाचन कार्यतालिकाअनुसार प्रत्यक्षतर्फका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुनेछ । प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरी चुनाव चिह्न प्रदान गर्नेछ । त्यसैका आधारमा असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु हुनेछ ।
निर्वाचन कार्यक्रम अनुसार घटस्थापनाको भोलिपल्ट असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्ति हुनेछ । असोज २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।