अप्पन जनकपुर
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं निवर्तमान सांसद अकवाल मियाँ नेकपा एमालेमा प्रवेश गरेका छन् । आज बिहान बालकोट पुगेर उनी एमालेमा प्रवेश गरेका हुन् ।
बारा क्षेत्र नम्बर ४ बाट लोसपाले उनलाई टिकट नदिने भएपछि उनी एमालेमा प्रवेश गरेका हुन् । सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीबाट कृष्णकुमार (किसान) श्रेष्ठले सो क्षेत्रका लागि टिकट पाउने भएका छन् ।
लोसपाबाट उनले टिकट पाउने कन्फर्म जस्तै थियो । उनी त्यसका लागि तयारी पनि गरिरहेका थिए । तर सत्ता गठबन्धन र लोसपाबीच गठबन्धन गर्ने सहमति भएपछि मियाँ टिकटबाट वञ्चित भए । त्यसपछि उनी एमालेमा प्रवेश गर्ने निर्णयमा पुगे । आज बिहान ४ बजे नै बालकोटबाट उनलाई फोन आएको थियो । त्यसपछि उनी पाँच बजे बालेकोट पुगेर साढे पाँच बजे नै पार्टी प्रवेश गरे । एमालेले उनलाई सो क्षेत्रबाट टिकट दिने निश्चित गरेको छ ।