जनकपुरधाम, माघ १ गते । धनुषाको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा लाग्ने एक महिने मकर मेला आइतबारदेखि सुरु भएको छ । हरेक वर्ष माघ महिनाको प्रत्येक आइतवार लाग्ने मकर मेला सुरु भएको छ ।
जिल्लाको उत्तरपूर्वी क्षेत्रमा ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्व बोकेको धनुषाधामको मकर मेला प्रख्यात छ । माघ १ गतेदेखि मसान्तको अन्तिमसम्म प्रत्येक आइतबार लाग्ने मकर मेला भर्न नेपालसहित सिमावर्ती भारतका विभिन्न स्थानबाट लाखौंको संख्यामा श्रद्धालु भक्तजन तथा पर्यटकहरु धनुषाधाम आउने गर्छन् ।
त्रेतायुगमा राजा जनकले छोरी सीताको विवाहको लागि आयोजना गरेको स्वंयम्बरमा भगवान रामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र धनुषको मध्य टुक्रा धनुषाधाममा झरेको धार्मिक मान्यता छ ।
धनुषाधाममा खसेको धनुषको कालो रङको शिलामाथि अहिले पीपलको रुख छ । उक्त रुख साढे पाँचसय वर्ष पुरानो रहेको विश्वास गरिन्छ । पीपलको बोटमुनि नागको बास रहेको बताइन्छ । अमावश्या तिथिका दिन मध्यरातमा मणिसहितको नाग देखिने र पूरै मन्दिर हरियो रङले रंगिने जनविश्वास छ ।