डा. शरदसिंह यादव, पशु चिकित्सक
डा. शरदसिंह यादव, पशु चिकित्सक
जनकपुरधाम । सबैले देखासिकी वा लहडमा मात्र घरमा कुकुर राखेका हुँदैनन् । कतिले यसलाई घरको सुरक्षाका लागि त, कसैले पारिवारिक माहोल रमाइलो बनाउन कुकुरलाई साथमा राख्छन् । एक्लोपनबाट बच्न पनि कुकुर पाल्नेको जमात बढ्दो छ ।
घरमा कुकुर राखेपछि उसलाई सही खानपान गराउने मात्र होइन, समय पनि दिनुपर्ने हुन्छ । धेरै प्रजातिका कुकुर एकदमै ऊर्जावान् हुन्छ, जसलाई नियमितजसो घरबाहिर पनि लैजानुपर्छ । समस्या के छ भने हामीकहाँ कुकुरको छुट्टै पार्क छैन ।
चोक, गल्ली, सडक किनार वा कुनै खुला स्थानमा डुलाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा स्थानीय मान्छे, छिमेकको गाली खानुपर्ने अवस्था पनि आउँछ । किनभने जथाभावी कुकुरलाई दिसा–पिसाब गरिदिन्छ, बटुवालाई भुक्ने–झम्टिने गर्छन्, बाटोमा जे भेट्यो खाइदिने गर्छन् ।
त्यसैले घरपालुवा कुकुरलाई बाहिर डुलाउन लानुअघि केही कुरामा ख्याल गर्नुपर्छ ।
१. पटी पिकर बोक्नुहोस्
कुकुरलाई बाहिर डुलाउँदा दिसाको व्यवस्थापन र विर्सजन कसरी गर्ने भन्ने ख्याल गर्नुपर्छ । बाहिर डुलाउँदा एउटा निश्चित ठाउँमा दिसा पिसाब गराउने बानी गर्नुपर्छ । साथै आफूसँगै पटी पिकर (दिसा टिप्ने) बोक्नुपर्छ । यसरी दिसालाई पोलिथिनमा राखेर सही ढंगले विर्सजन गरिदिनुपर्छ ।
२. डोरीले डोहोर्याउनुहोस्
घरपालुवा कुकुरलाई बाहिर निकाल्दा जथाभावी दौडिन सक्छ । यसरी दौडिंदा मान्छेलाई झम्टिने, अरु कुकुरसँग झगडा गर्ने गर्न सक्छ । त्यसैले सम्भव भएसम्म डोरी (हार्नेस र लिस) लगाइदिएर आफूसँगै हिंडाउनुहोस् ।
३. आफूसँगै हिंड्न सिकाउनुहोस्
कुकुरलाई सानो उमेरमा जस्तो बानी सिकायो, पछिसम्म त्यस्तै हुन्छ । बाहिर डुलाउँदा आफूसँगै हिंड्ने बानी गर्न सकिन्छ । खासगरी डोरीमा डोहोर्याएर हिंडाउने बानी गर्नु उत्तम हो । यसरी हिंडाउँदा कुकुरले डोरी तान्ने, यताउता दौडिन खोज्ने हुन सक्छ । तर सानैदेखि उनीहरुलाई आफूसँगै हिंड्न सिकाइयो भने डोरी तान्दैन, सरासर हिंड्छ ।
४. खोप लगाइदिनुहोस्
बाहिर हिंडाउँदा कुनै कारणवश कुकुरले अरुलाई टोक्न सक्छ । वा सडक कुकुरसँग झगडा गर्न सक्छ । यस्तो बेला रेबिज जस्तो संक्रमण सर्ने र सार्ने डर हुन्छ । त्यसैले सानो उमेरमै कुकुरलाई निश्चित खोप दिनुपर्छ । यस्तो खोप दिएपछि मात्र घरबाहिर निकाल्नुपर्छ ।
सबै कुकुरलाई घरबाहिर डुलाउन लैजानुपर्छ ?
सामान्यतया कुकुर दुई प्रकारका हुन्छन्, ठूलो र सानो । साइबेरियन हस्की, जर्मन शेफर्ड, ककर स्प्यानियल, गोल्डेन रिट्रीभर, डाल्मेन्सन जस्ता ठूला जातका हुन्छन् । उनीहरुलाई अनिवार्य रुपमा दिनको आधादेखि एक घण्टासम्म घरबाहिर घुमाउन लानुपर्छ । यस्ता कुकुरलाई घरबाहिर वा खुल्ला ठाउँमा दौडाउने, खेलाउने र व्यायाम गराउनुपर्ने हुन्छ ।
यस्ता कुकुरलाई घरभित्र मात्र राखेर व्यायाम खेलाएर पुग्दैन । शरीरको बनावट अनुसार व्यायाम पनि चाहिने भएका कारण यिनीहरुलाई खुल्ला ठाउँमा खेलाउनुपर्ने हुन्छ ।
यद्यपि शिबा इनु, बिगल, पग, दुदल, गोल्डेल रिटुवर, स्पानिया, जापानिज स्पिच जस्ता सानो जातका कुकुुरलाई भने घरभित्र मात्रै खेलाउने, तलमाथि ओहोरदोहोर गराए पुग्छ । उनीहरुलाई बाहिर घुमाउनै लानुपर्छ भन्ने जरुरी छैन ।
त्यस्तै कुकुर बिरामी छ, रोगी छ वा शरीरमा ग्लुकोज कमी छ भने पशु चिकित्सकको सल्लाह लिएर मात्र घुमाउन लानुपर्छ । स्वस्थ कुकुरलाई मात्र बाहिर घुमाउन लान मिल्छ ।
कस्तो ठाउँमा घुमाउन लैजाने ?
विदेशमा भए पेट पार्क भनेर छुट्टै हुन्छ तर नेपालमा यसको व्यवस्था छैन । त्यसैले कुकुरलाई घुमाउन ठूलो खुल्ला चौर, बगैंचा वा अरुलाई डिस्टप (समस्या) नहुने खालको ठाउँ रोज्नुपर्छ ।
भिडभाड वा हुलमुल भएको ठाउँमा घुमाउन लैजाँदा कुकुर मानिससँग तर्सिने, मानिस कुकुरसँग तर्सिने सम्भावना हुन्छ । त्यसैले उनीहरुलाई शान्त, मानिसको आवतजावत कम भएको, सामुदायिक कुकुर चाप कम भएको ठाउँमा, बालबालिका आवतजावत कम हुने स्थानमा कुकुरलाई डुलाउँदा उपयुक्त मानिन्छ । त्यस्तै आफ्नो कुकुरबाट अरुलाई तनाव सिर्जना नहुने स्थानमा लैजाँदा प्रभावकारी हुन्छ ।
(डा. यादव काठमाडौंको विशालनगरस्थित एड्भान्स पेट अस्पतालका सञ्चालक हुन्)