जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाले प्रयोगशाला सँचालनमा ल्याएको छ । विहिबार एक समारोहबीच “जनकनन्दिनी जनस्वास्थ्य प्रयोगशाला” सँचालनमा ल्याएको हो ।
जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवको निरन्तर पहलपछि गाउँपालिकामा पहिलो पटक ल्याब सँचालनमा आएको हो । स्थानीय तहसँग प्रदेश सरकारको स्वास्थ्य समन्वय कार्यक्रम अन्तर्गत जनकनन्दिनी गाउँपालिकाको खजुरीमा प्रयोगशाला सँचालनमा आएको हो ।
“जनकनन्दिनी जनस्वास्थ्य प्रयोगशाला” नाम दिइएको उक्त प्रयोगशालामा थाईरोइड बाहेका सबै प्रकारको चेकजाँच हुने भएपछि यहाँका नागरिकले जनकपुर वा सिरहा नै जानुपर्ने बाध्यता पनि अन्त्य भएको गाउँपालिका अध्यक्ष यादवले बताए ।
नेपाल–भारतको सीमासँगै रहेको जनकनन्दिनी गाउँपालिकाका बासिन्दाहरु ल्याब नहुँदा भारतको जयनगर, देवधा वा अन्य ठाउँमा जानुपर्ने बाध्यता थियो । जनकनन्दिनी गाउँपालिका वडा नं. ४ खजुरीमा सँचालनमा आएको ल्याबमा सबै चेकजाँच हुने भएपछि अब जयनगर वा जनकपुर जानुपर्ने बाध्यता अन्त्य भएको दाबी गाउँपालिका अध्यक्ष यादवको छ ।
उनले भने, –“धेरै मिहिनेत र पहलपछि प्रदेश सरकारको समन्व्यमा प्रयोगशाला सँचालनमा ल्याएका छौँ । यो प्रयोगशालामा एकदमै न्यून्त्तम दरमा परीक्षण गरी रिपोर्ट दिइने छ । खुन, पिसाब, खकार लगायतका अन्य टेष्टहरु न्युन्त्तम दरमा गरिनेछ, यसले जनकनन्दिनी गाउँपािलकाको ६ वटै वडाका नागरिक स्थानीय स्तरमै लाभान्वित हुनेछ ।”
ल्याब टेष्टको लागि प्रकृति अनुसार न्युन्त्तम २५ रुपैयाँदेखि अधिकत्तम ३०० रुपैयाँसम्म चार्ज रहेको जनकनन्दिनी गाउँपालिकाका स्वास्थ्य शाखा सँयोजक रविभुषण मण्डलले जानकारी दिए । उनका अनुसार, टेष्टको प्रकृति अनुसार न्युन्त्तम दरमा चेकजाँच हुनेछ ।
जनकपुर वा अन्य ठाउँमा सोही चेकजाँचको लागि ५०० देखि १५०० सम्म लिने गरेकोमा यहाँ कम रेटमा चेकजाँच हुने मण्डलले बताए ।
ल्याब उदघाटनको क्रममा गाउँपालिका उपाध्यक्ष कमला सहगल, वडा नं. ४ का वडाध्यक्ष दिलिप यादव, वडा नं. ३ का वडाध्यक्ष विष्णुदेव साह, वडा नं. ६ का वडाध्यक्ष सूर्यदेव यादव, वडा नं. १ का वडाध्यक्ष सँतोष गोईत, स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्यचौकीका कर्मचारीहरुको समेत सहभागीता रहेको थियो ।
जनकनन्दिनी जनस्वास्थ्य प्रयोगशलालाई अध्यक्ष दिपिनदेव यादव र उपाध्यक्ष कमला सहगलले सँयुक्त रुपमा उदघाटन गरेको हो ।