काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा बालकोट पुगेका छन् । अदालतको आदेशपछि हिरासतमुक्त भएका सांसद शर्मा आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।
ओलीसँग भेटेपछि बाहिरिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आतंककारीको संज्ञा दिँदै पदबाट राजीनामा दिनुपर्ने बताए ।
उनले सदनमा गोप्य मतदान गरे प्रचण्डको पक्षमा २० मत पनि नआउने दाबी गरे । माओवादीकै सांसदहरू पनि प्रचण्ड र गृहमन्त्रीको गतिविधिप्रति असन्तुष्ट रहेको शर्माको जिकिर छ । आफूले जनताको पक्षमा बोलेकाले ज्यानको सुरक्षामा खतरा रहेको उनले बताए । शर्माले अब कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताए ।
उनले भने, ‘सरकार चेन्ज गर्ने कुरा आजको भोलि हुँदैन । कांग्रेसको नेतृत्वमा पहिलो चरणमा र दोस्रो चरणमा एमाले नेतृत्वको सरकार बनाउनुपर्छ । शेरबहादुर दाई, केपीबा हुँदै शेखर कोइराला, गगन थापा सबैलाई प्रधानमन्त्री बन्दै जान्छन् ।’
उनले आगामी दिनमा आफू कांग्रेसको नेतृत्व गर्ने व्यक्ति भएकाले एमाले प्रवेश गर्ने कुरामा सत्यता नभएको बताए ।
उनले भने, ‘चुनावअघि गठबन्धन गर्दा हाम्रो धेरै साथीहरूको राजनीतिक हत्या भयो । हाम्रो पक्ष गठबन्धनको पक्षमा थिएन पार्टीभित्र पनि । अहिले हामी जति प्रचण्डको नेतृत्वमा बस्छौं त्यति कांग्रेस खिइन्छ ।’
उनले गृहमन्त्रीले माफी दिँदै राजीनामा माग्दै एक्लै भएपनि संसद अवरोध गर्ने चेतावनी दिए । प्रधानमन्त्रीले अहिले फण्डामात्रै देखाएको जिकिर गर्दै शर्माले आज बस्ने पार्टी संसदीय दलको बैठकमा पनि कुरा राख्ने बताए ।
शुक्रबार काठमाडौं जिल्ला अदालतले थुनाका राख्न नपर्ने आदेशपछि शर्मा छुटेका थिए । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सीआईबीले उनलाई पक्राउ गरेको थियो । अदालतको आदेशमा छुटेपछि शर्माले केपी ओली राष्ट्रनायक भन्दै जिन्दावादको नारा लगाएका थिए ।