विनय आजाद– म पछिल्लो तीन दिनदेखि भाइको उपचारका लागि बिराटनगरस्थित नोबेल अस्पतालमा छु । संयोग खराब भएर भनौं, मोटरसाइकल निकै कम गतिमा भएपनि बाटोमा मोडमा ब्रेक नलाग्दा अलमलिएर लड्दा लेगार्डले दाहिने खुट्टा च्यापिएर हड्डी फ्र्याक्चर हुन गयो ।
शल्यक्रिया गरेर केही समयका लागि खुट्टामा स्टिल राख्नपर्यो । भाइको स्वास्थावस्था सुधारोन्मुख छ । अरू कतै चोटपटक नलागेकाले एक सातासम्ममा उनी डिस्चार्ज हुनसक्ने अनुमान छ । मेरा भाइ मात्र होइन, अर्थो वार्डमा दुर्घटनाका बिरामी भरिभराउ छन् ।
मेरो अनुमान गलत छैन भने यो वार्डसहित अस्पताल भरिका कुल बिरामीको एक तिहाई मधेश प्रदेशका छन् । कोही जटिल रोगका बिरामी छन् भने अधिकांश सामान्य रोगी । त्यसमध्ये पनि अधिकांश दुर्घटनामा परेका । बिराटनगरका अन्य अस्पतालमामा पनि यस्तै छ ।
छट्पटाइरहेका गम्भीर अवस्थाका बिरामीलाई एम्बुलेन्समा राखेर यति लामो दूरी तय गरी कोही पनि यता रहरले आउँदैनन् । आर्थिक अवस्था ठिकठाकै भएका सर्वसाधारणहरू आफ्नै ठाउँमा गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा नहुँदा बाध्य भएर यहाँसम्म आउने गर्छन् ।
आर्थिक रूपले निकै विपन्नहरू त बाहिरका ठूला अस्पतालमा उपचार गराउने कुरा सोच्न पनि सक्दैनन् । जस्तोसुकै समस्या भएपनि स्थानीयस्तरमै सामर्थ्यले पुग्ने उपचार गराउने वा मर्नेबाहेक अर्को विकल्प भूइँका मान्छेसँग छैन । किनकि, ठूला अस्पतालहरूमा हरेक एक स्वासको पनि पैसा तिर्नुपर्छ ।
देश र जनताको अवस्था बदल्नका निम्ति यत्रा आन्दोलन, संघर्ष र क्रान्तिहरू भए । व्यवस्था परिवर्तन भए । व्यवस्था र अवस्था दुबै परिवर्तन गर्छु भन्नेहरूको अवस्था पनि परिवर्तन भयो । कुनैबेला सिटामोल किन्ने हैसियत नभएकाहरू आज विदेशका चिल्ला अस्पतालमा उपचार गराउन सक्ने भइसके ।
कुनैबेला चप्पल किन्ने नसक्ने उनीहरू अहिले लाखौंका जुत्ता लगाउँदैछन् । दिनदिनै अनेक-अनेक सम्पत्ति जोडिरहेका छन् ।समग्रमा भन्दा उनीहरू आर्थिक रूपले यति सम्पन्न भइसके कि त्यो अनुमान लगाउन पनि मुस्किल छ । उनीहरू मात्रै कहाँ, आफन्त र आसेपासेहरू पनि तरिसके ।
तर, आज जनताको अवस्था, देशको अवस्था के छ ? यो बुझ्नका लागि माथिका उदाहरण पर्याप्त छन् । देशमा तीन तहका सरकार छन् । ती सरकारहरूले चाहिदिने हो भने जनताका यस्ता-यस्ता आधारभूत आवश्यकताका कुराहरू भोलिबाटै पूरा हुन थाल्नेछन् ।
तर, तिनीहरू चाहँदैनन् । किनकि, तिनीहरू निर्दयी छन्, दरिद्र छन्, स्वार्थी, असक्षम अनि भ्रष्ट छन् । श्रीलंकामा यस्तै प्रवृत्तिले सीमा नाघेपछि त्यहाँका जनताले गत वर्ष राष्ट्रप्रमुखसहित केन्द्रका तमाम जनप्रतिनिधिलाई लखेटेर उनीहरूको सरकारी निवास नै कब्जामा लिएका थिए ।
नेपालमा पनि जनताको ढाड सेकेर, अनेक सास्ती र दु:ख दिएर देशलाई हरिकंगाल बनाइरहेका केन्द्रका, सातवटा प्रदेशका र सात सय ५३ वटा पालिकाका सरकार हाँकिरहेकाहरूले यस्तै घटनालाई निम्त्याइरहेका छन् ।