अप्पन जनकपुर
जनकपुरधाम । नेकपा एमाले सिरहा जिल्लाका तत्कालीन चर्चित नेता शहीद हेमनारायण यादवको २० औं स्मृति दिवस भव्यताका साथ मनाईने भएको छ ।
शुक्रबार उनको जन्मथलो सिरहामा विभिन्न कार्यक्रमको आयोजना गरी स्मृति दिवस मनाउन लागिएको जनाईएको छ । सिरहाको सदरमुकाम सिरहास्थित हेम नारायण चोकमा रहेको शहीद हेमनारायण यादवको सालिकमा माल्यापर्ण गरी स्मृति दिवस मनाइने भएको हो ।
सालिकमा माल्यापर्ण गरी नेकपा एमालेका पोलीब्युरो सदस्य तथा प्रतिनिधि सभा सदस्य लिलानाथ श्रेष्ठ लगायतका जिल्ला स्तरीय नेताहरुले स्मृति सभाको सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक नेकपा एमाले सिरहा जिल्ला कमिटीले जानकारी दिएको छ ।
स्मृति दिवसको अवसरमा शुक्रबार प्रादेशिक अस्पताल सिरहामा उपचाररत बिरामीहरुलाई फलफुल वितरण, हेम नारायण चोकमा रक्तदान, पार्टीको समिक्षा बैठक र दिउँसो २ बजे नगरस्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रमको समेत आयोजना गरिएको छ ।
यस कार्यक्रमको आयोजना नेकपा एमाले सिरहा जिल्ला कमिटी गरेको जनाईएको छ ।
शहीद यादवको हत्या २०६० माघ १९ गते भएको थियो । माघ १९ गतेका दिन प्रत्येक साल स्मृति दिवस मनाईदै आएको छ ।
यसरी भएको थियो यादवको हत्या
२०६० माघ १९ गतेका दिन सिरहा नगरपालिका ७ मैसोथा घर भएका यादव पार्टीको बैठकको लागि घरबाट मोटरसाईकल लिएर घनगढीको जिरोमाईलस्थित पार्टीको तत्कालिन सचिव हीराबहादुर सुनवारको घरमा डाकिएको बैठकमा गईरहेको थियो । तर, उनी त्यहाँ नपुग्दै गागन पुलबाट अपहरणमा परे । अपहरण गरी उनीसँग रहेको मोटरसाईकल नजिकैको उखु खेतमा फ्यालियो । र उनलाई अपहरण गरी कमला नदीमा लगियो । कमला नदीमा लगेर उनको हत्या गरे । घरमा बैठकमा गएको र बैठकमा सहभागिहरुले बैठकमा नआएको भन्दै कसैले खोजविन गरेन। भोलिपल्ट उनको शव कमला नदीको पश्चिम किनारमा फ्यालिएको थियो । शव फ्यालिएको अवस्थामा भेटेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएपछि यादवको परिवारनले हत्या भएको थाहा पाए ।
यादवको हत्या गरी उनको शरिरमा माओवादीको झण्डा ओढाई दिएको थियो । तर, भोलिपल्टै माओवादी प्रेस विज्ञप्ति निकालेर उनको हत्यामा माओवादीको संलग्नता नरहेको जनाएको थियो ।