अप्पन जनकपुर
जनकपुरधाम । जनकपुरधामबाट करिब १९ किलोमिटर उत्तर-पूर्वमा पर्छ धनुषाधाम । यहाँ हरेक वर्ष माघमा एक महिने मकर मेला लाग्छ । यो ऐतिहासिक तथा धार्मिक मेलामा आइतबार र मंगलबार मकर मेलामा दर्शनार्थीको अधिक भीडभाड हुन्छ ।
त्रेता युगमा राजा जनकले छोरी सीताको विवाहका लागि आयोजना गरेको धनुष यज्ञमा भगवान रामले शिव धनुष तोड्न सफल भएका थिए । भगवान रामले धनुष भाँचेपछि तीन टुक्रा भयो । जसमध्ये एक टुक्रा आकाश, अर्को पाताल र धनुषको मध्य टुक्रा धनुषाधाममा झरेको धार्मिक मान्यता छ ।
यहाँ धनुषको टुक्रा झरेको अवशेष छ । त्यहाँ धनुषा मन्दिर बनाएको छ । उक्त मन्दिरमा मकर मेलामा आउने श्रद्धालु भक्तजन पूजापाठ गर्छन् । आइतबार मन्दिरमा पुग्दा श्रद्धालुहरुले पूजापाठ गर्न तछाडमछाड गरिरहेका थिए । अत्यधिक भीडभाड । तर व्यवस्थापन पक्ष कमजोर देखियो । जसका कारण कैयौं श्रद्धालु पूजापाठबाट समेत बञ्चित भइरहेका छन् ।
यहाँ धनुष सागर र वाणगङ्गा सरोवर पनि रहेको छ । धनुष सागरमा स्नान गरेर मन्दिरमा भन्टाको भार (पाहुर) चढाएपछि मुसे रोग (अइल्हा) र छारेरोग निको हुने जनविश्वास छ । मिथिला महात्मयका अनुसार पाँच मकर स्नान गरेर धनुष भगवानको दर्शन तथा पूजापाठ गर्दा १०० रामेश्वरमको दर्शन बराबर हुन्छ ।
धनुषको अवशेष नजिकै एउटा विशाल पीपलको बोट (रुख) छ । स्थानीयका अनुसार रुख साढे पाँच सय वर्ष पुरानो छ । रुखमुनि नागको बास रहेको छ । अमावस्या तिथिका दिन मध्यरातमा मणिसहितको नाग देवता देखा पर्छ र त्यसबेला पूरै मन्दिर हरियो रंगले रंगिन्छ ।
धनुषा मन्दिर क्षेत्रमै एउटा दुलो पनि छ । जसमा जति पानी खन्याए पनि भरिदैन । उक्त दुलोमा पानी भरेको वर्ष खडेरी पर्ने वा कुनै न कुनै ठूलो विपद् (घटना) घट्ने गरेको स्थानीयको दाबी छ । त्यसैले मकर मेला भर्न आउनेहरु श्रद्धापूर्वक धनुष मन्दिरमा पूजापाठ गर्छन् ।
श्रद्धालुहरु यहाँबाट विशेषगरी पतरक (तैरपता), केसौर (फल) कोशेलीको रुपमा घर लग्छन् । जताततै पतरक खरिद विक्री गर्नेको भीड देख्न सकिन्छ । हरेक दिन करिब १० लाख बढीको पतरक र केसौर खरिद विक्री हुने गरेको स्थानीय विनय यादवले बताए ।
मेला भर्न देशको हरेक कुनाका र भारतका श्रद्धालु आउने गरेका छन् । आइतबार मेलामा पुग्ता जताततै भीडभाड देखियो । एक किलोमिटर वरै गाडी राख्नुपर्छ । धनुषाधामबाट चारैतीर जाने सडकहरुमा ट्राफिक जाम हुने गरेको छ । तर ट्राफिक र प्रहरी थोरै संख्यामा परिचालन भएकाले श्रद्धालुले आवतजावत गर्न निक्कै सास्ती झेल्नुपरेको छ ।
मकर मेलालाई आमा–छोरीको मिलनस्थलका रुपमा पनि चिनिन्छ । विवाहपछि पतिको घर गएकी छोरी लामो समयसम्म माइती आउने साइत नजुरेपछि एकार्काको खबर लिन मकर मेलामा आइ भलाकुसारी गर्ने गरेको स्थानीय सञ्जय यादवले सुनाए । ६० वर्षीय उनले भने, ‘यो मेलाको सुरुवात कहिले भयो थाहा छैन । यो धेरै पुरानो मेला हो ।’
विगतमा यहाँ युवा–युवतीबीच प्रेम भएपछि धनुषलाई साक्षी राखेर विवाह गर्ने परम्परा पनि थियो । प्रेम सम्बन्धमा नरहेका युवा–युवती अभिभावकको सहमतिमा पनि यहाँ आएर विवाह गर्थे । तर केहि वर्षदेखि विवाह गर्न आउनेहरु भेटिदैन । यहाँ आएर विवाह गर्ने चलन नै समाप्त भएको छ ।
स्थानीय घुरन सदा भन्छन्– पहिले मेलामा आएर युवा युवती धनुषा बाबाको साक्षी राखेर विवाह गरेर रमाइलो गर्थ्यो । म पनि धेरै जोडीलाई विवाह गरेको देखेको छु । तर अब विवाह गर्न कोही आउँदैनन् । पहिले बनस्ती (सखुवाघानी)मा मेला लाग्थ्यो । अहिले वन विभागले पर्खाल लगाएपछि मेला लथालिङ बन्यो ।
धार्मिक आस्थासँग जोडिएको मकर मेलामा पछिल्लो समय विकृति बढेको छ । अहिले जुवा मेलाको रुपमा विकास भएको देखिन्छ । मेलामा जताततै जुवा खेलाउनेहरु भेन्छिन् । कतिपय बालबालिका समेत फिरफिरे जुवा खेलाउने र खेल्ने गरेको देखिन्छ । जुवा खेलाउन स्टलहरु नै राखिएको छ । तर प्रहरी प्रशासन मौन छ ।