सिरहा । सिरहा नगरपालिका-५ बरेर्वामा वडाध्यक्ष जागेश्वर यादवले व्यक्तिगत जग्गामा बलपूर्वक सडक बनाएर आरसिसी ढलान गरेको स्थानीयले आरोप लगाएको छ ।
स्थानीय सुकदेव कुसियतले आफ्नो निजि जग्गामा वडाध्यक्षले बलपूर्वक प्रहरी लगाएर बाटो बनाएर ढलान गरेको दुखेसो पोखेका छन् ।
सडक बनाउन लागेपछि आफुलाई कसैले नसोधीकन वडाध्यक्ष यादवले आफ्नो जग्गाको मुल्यांकन बढाउनको लागि जबर्जस्ती बलपूर्वक प्रहरी लगाएर सडक ढलान गरेको बताए । ‘आफ्नो नाममा लालपुर्जा रहेको कित्ता नं.६६७ नम्बरको जग्गामा बिना सहमतिको सडक ढलान गरेको छ’, पीडित कुसियतले भने, ‘यसरी कसैको जग्गामा सडक बनाउन कसैको अधिकार छैन ।’
‘कसैको व्यक्तिगत जग्गामा सडक बनाउने कुन नियममा लेखिएको पिडित कुसियतले प्रश्न गरेका छन् ।’ उनले भने, ‘वडाध्यक्ष जागेश्वर यादवको व्यक्तीगत जग्गा आफ्नो जग्गाको पछाडि रहेकोले उनले आफ्नो जग्गाको मुल्यांकन बढाउनको लागि यो सडक जबर्जस्ती बनाएको आरोप लगाए ।’
यता, पीडित सुकदेव कुसियतले उच्च अदालत राजविराजमा निषेधाज्ञाको मुद्दा दिएपछि अदालतले जेष्ठ ११ गते सिरहा नगरपालिकाको नाउँमा अन्तिम आदेश गरेको थियो ।
‘निवेदकले अन्तरिम आदेश समेतको माग गरेको सम्बन्धमा अन्तरिम आदेश जारी हुने वा नहुने दुबै पक्षको उपस्थितिमा छलफल गराई निष्कर्षमा पुग्न उपयुक्त हुने देखिँदा सो प्रयोजनको लागि प्रमाण सहित उपस्थित हुन मिति २०८१/०२/१६ गते पेसी तोकी छलफल नभए सम्मको लागि निवेदकको कि.नं. ६६७ को जग्गामा निजको मञ्जुरी सहमती विना बाटो निर्माण कार्य नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) बमोजिम विपक्षीहरुको नाउँमा अन्तरिम आदेश जारी गरेको थिए ।
तर, वडाध्यक्ष जागेश्वर यादवले बिना छलफल र सहमतिकै पीडित कुसियतको जग्गामा सडक बनाएको छ ।
यता, वडाध्यक्ष जागेश्वर यादवलाई यस विषयमा प्रतिक्रिया लिन पटकपटक टेलीफोन सम्पर्क गरेपनी उनको सम्पर्क हुन सकेनन् ।