विपिन यादव
जनकपुरधाम । नागरिकको गुनासो र सुझाव सङ्कलन गर्ने उद्देश्यले ईलका प्रहरी कार्यालय यदुकुहाले नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
धनुषाको शहिदनगर नगरपालिका–३ यदुकुहास्थित ईलाका प्रहरी कार्यालय यदुकुहाको प्राङ्गणमा सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
गुनासो व्यवस्थापनका लागि धनुषाले प्रहरी कार्यालयले प्रदान गर्दै आएको सेवासँग प्रहरीले खेल्नुपर्ने भूमिका तथा जनताले अनुभूति गर्ने गरी मुस्कानसहितको सेवालाई प्रभावकारी बनाउन जनताको गुनासो सुन्नका लागि नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको धनुषा प्रहरीले जनाएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा शहिदनगर नगरपालिकाका नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति, सीमानाकामा कडाइ, चोरी तस्करी नियन्त्रण, लागू औषध दुर्व्यसनी, दुर्घटना न्यूनीकरण र प्रहरीको सेवाबाट जनताले भोग्नुपरेको सास्ती लगायतका विषयमा धनुषा प्रहरीको ध्यानाकर्षण गराएका थिए ।
धनुषाको शहिदनगर नगरपालिकाका नगरप्रमुख दिनेश प्रसाद यादवले पालिकाभित्र सिसि क्यामरा जडान गर्ने कार्यको थालनी भएको बताउनुभयो । उहाँले जनताको गुनासो सुनेर स्थानीय सरकार र प्रहरी प्रशासनले छिटो छरितो रुपमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।
प्रहरी निरीक्षक चन्दकिशोर साह (सिके) ले जनताप्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिनुभयो । नागरिकको गुनासोलाई सम्बोधन हुने गरी धनुषाले काम गर्ने ईलका प्रहरी कार्यालय यदुकुहाका प्रमुख चन्दकिशोर साह (सिके) ले बताउनुभयो ।
यस्तै जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी समेत रहनुभएका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जनतालाई सहज सेवा प्रवाह गर्नका लागि नागरिकको गुनासोलाई सम्बोधन हुने गरी काम गर्ने बताउनुभयो ।
नागरिक सुनुवाई कार्यक्रमले प्रहरी र नागरिकको सम्बन्ध राम्रो हुने भएकाले धनुषा प्रहरीले प्रत्येक पालिकामा पुगेर नागरिक सुनुवाई कार्यक्रम मार्फत आएको गुनासो सहितको सल्लाह र सुझावलाई कार्यान्वयन गर्ने धनुषा प्रहरीले जनाएको छ । सो कार्यक्रममा ईलका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक चन्दकिशोर साह (सिके), ईलका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक जीवन कुवँर, वडा अध्यक्ष तनुकलाल कुसैत, वडा अध्यक्ष मनोज दास, विभिन्न पेशा व्यवसाय सघं सस्था, विद्यार्थी र सर्वसाधारण लगायतका सहभागी रहेका थिए ।