अप्पन जनकपुर
जनकपुरधाम । धनुषा र सिरहा जोड्ने कमला नदीमा १४ वर्षसम्म पुल निर्माण नभएपछि स्थानीय बासिन्दा जोखिम मोलेर वारपार गरिरहेका छन् ।
आइतबारे व्रत बसेका स्थानीय बासिन्दा गत वैशाख ३० मा कमला नदीमा स्नान गर्न जाँदै थिए । उनीहरू ओहोरदोहोर गर्दागर्दै एउटा पुल भासियो । झन्डै ४० जना व्रतालु नदीमा डुबे ।
उनीहरूको उद्धार गर्न स्थानीय १०-१२ जना युवा गए । उनीहरू पनि भासिएको पुलमै केही बेर अल्झिए । बल्लतल्ल सबै मिलेर पानीमा डुबेका व्रतालुलाई बाहिर निकाले ।
यो कुनै नौलो घटना थिएन । हरेक वर्षजसो पुल भासिने गर्दा वारपार गर्न कठिनाइ भोग्नुपर्ने यहाँका बासिन्दाको नियति नै बनेको छ । गत वर्ष पनि यसैगरी पुल भासिएको थियो । र स्थानीय युवा तथा सुरक्षाकर्मीले उद्धार गरेका थिए । हरेक वर्ष धनुषा र सिरहाका बासिन्दाले यस्तै जोखिम मोल्नुपरिरहेको छ । स्थानीय युवाले बनाएको बाँस र प्लाईको पुलले बढी भार थेग्न सक्दैन ।
अझ वर्षातमा त पुलमा ओहोरदोहोर गर्नै सकस हुने गरेको छ । बाढी पुलमाथि पुग्छ । जोखिम मोलेर वारपार गर्ने कतिपय स्थानीय बासिन्दा नदीमा डुब्ने गरेका छन् ।
पक्की पुल नभएकैले यहाँका स्थानीय युवाले कामचलाउ पुल बनाएका हुन् । ६ महिनाअघि सुजित मण्डल, अजय कुमार मुखिया, सञ्जय यादव लगायत स्थानीय ४० युवा मिलेर तीन वटा पुल बनाएका छन् । तीन वटै पुल बनाउन झन्डै पाँच लाख रुपैयाँ लागेको मण्डल बताउँछन् ।
त्यसैले उनीहरू पुलमा मोटरसाइकल वारपार गर्दा शुल्क लिन्छन् । प्रतिमोटरसाइकल २० देखि ५० रुपैयाँसम्म लिने गरेको उनी बताउँछन् ।“प्रहरी र कर्मचारीले त शुल्क तिर्दैनन्,” शुल्क उठाउन खटिएका मण्डल भन्छन्, “पैदल र साइकलबाट पुल तर्नेको भने शुल्क लिंदैनौं ।”
उनीहरूले पैसा कमाउन पुल बनाएका भने होइनन् । यसअघि स्थानीय सरकारले बनाएको बाँसको पुल भत्किएपछि आवतजावत गर्न समस्या भएको थियो । स्थानीय, प्रदेश र संघीय सरकारलाई गुहार गर्दा वास्ता नगरेपछि स्थानीय युवाले नै पुल बनाएका हुन् ।
तीन साताअघि भत्किएको एउटा पुल मर्मतसम्भार गरेर वारपार गर्न मिल्ने बनाइएको छ । यो पनि कति वेला भत्किने हो, ठेगान छैन ।“डराएरै वारपार गर्छौं,” स्थानीय मोहन कुमार साह भन्छन् ।
बर्खाको चिन्ता!!
स्थानीय मोहन कुमार साह दैनिकजसो कामकाजका लागि जनकपुर र सिरहा आउजाउ गरिरहन्छन् । ससुराली जाँदा होस् वा किनमेलका लागि, पुल वारपार गर्नुपर्ने बाध्यता रहेको उनी सुनाउँछन् । तर बर्खा नजिकिंदै गर्दा साहको चिन्ता पनि बढ्दै गएको छ । “बर्खाको समयमा हिंड्न निकै गाह्रो हुन्छ, यो बाँसको पुल पनि बाढीले बगाउँछ,” उनी भन्छन् ।
मनसुनको वेला त कमला नदीमा आउने बाढीले बाँसको पुल डुब्छ । डुंगा पनि चलाउन सकिंदैन । वारपार नगरी स्थानीय बासिन्दाको दैनिकी चल्दैन । “हरेक बर्खामा कतिको डुबेर ज्यान जान्छ,” उनी पीडा सुनाउँछन् ।
पक्की पुल १४ वर्षदेखि अधूरै रहेपछि कमला नदीमा स्थानीयले बनाएको बाँसको पुल ।
असार, साउन र भदौमा त वारपार गर्नै सकिंदैन । यी तीन महिना पूर्व-पश्चिम राजमार्ग वा भारतको जयनगरको घुमाउरो बाटो हुँदै जनकपुर पुग्नुपर्छ । यो पुलको बाटो भएर हुलाकी राजमार्गबाट मोटरसाइकलमा केही बेरमै जनकपुर पुगिन्छ । तर मोटरसाइकलमा भारतको बाटो भएर जाँदा एक घण्टा र पूर्व-पश्चिम राजमार्ग भएर डेढ घण्टा लाग्छ ।
बर्खाका तीन महिना विद्यार्थी, कर्मचारी तथा व्यवसायी पनि भारतको बाटो आवतजावत गर्न बाध्य हुन्छन् । भारतको बाटो हुँदा एकतिर लामो भएकाले सास्ती हुन्छ भने अर्कातिर सीमा क्षेत्रमा अनेक कठिनाइ झेल्नुपर्छ । नेपालकै बाटो पूर्व-पश्चिम राजमार्ग भएर आवतजावत गर्दा पनि समस्या हुने गरेको उनी गुनासो गर्छन् । “धनुषा र सिरहा जोड्ने कमलामा पुल बनिदिए त समस्याबाट छुटकारा पाइन्थ्यो,” उनी भन्छन्, “समय र खर्चको पनि बचत हुने थियो ।”
कहिले बन्छ पुल??
हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीमा पुल निर्माणका लागि २०६८ जेठमा पप्पु कन्स्ट्रक्शनलाई ठेक्का दिइएको थियो । झन्डै ४७० मिटर लामो पुल निर्माणका लागि २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पप्पु कन्स्ट्रक्शनले १० वर्ष लगाएर २०७८ सालमा पुल निर्माण गरेको पनि थियो ।
ढिलो गरी पुल तयार भए पनि स्थानीय बासिन्दाले नदी पार गर्न सहज हुने भनेर खुशी नै थिए । तर पुल उद्घाटन हुनुभन्दा चार दिनअघि २०७८ असार १७ मा पुलको एउटा स्पाम धसियो ।
उद्घाटन नहुँदै भासिएको कमला पुलको स्पाम (बायाँ)।
निर्माण कम्पनीको लापरवाहीले पुलको स्पाम धसिएको भन्दै सरकारले ठेक्का रद्द गर्यो । त्यसपछि लुम्बिनी बिल्डर्स कन्स्ट्रक्शनलाई ठेक्का दिइएको थियो । तर यस कम्पनीले पनि निर्माणमा ढिलाइ गरिरहेको छ । पुल भत्किएपछि नेको इन्स्योरेन्स कम्पनीबाट पाउनुपर्ने क्षतिपूर्ति नपाएकाले निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीका इन्जिनीयर डम्बरबहादुर भण्डारी बताउँछन् । “इन्स्योरेन्सले समयमा क्षतिपूर्ति भुक्तानी गरिदियो भने समयमा बनिसक्छ,” इन्जिनीयर भण्डारी भन्छन् ।
सम्झौता अनुसार अर्को वर्षसम्म पुल निर्माण गरिसक्नुपर्छ । कामको गति हेर्दा समयमै पुल बन्नेमा स्थानीय बासिन्दा ढुक्क छैनन् । “भासिएको पुल मर्मत गर्न थालेको दुई वर्ष भयो, तर निरन्तर काम भएकै छैन,” स्थानीय मोहन कुमार साह भन्छन् ।
बर्खा नजिकिएपछि मात्रै निर्माण कम्पनीले काम शुरू गरेको उनी सुनाउँछन् । पुस र माघमा अलि अलि काम गरेको कम्पनीले वैशाखमा काम गरेर त्यसै छोडिदिएको उनको भनाइ छ । “दुई वर्षमा दुई/तीन महिना मात्रै काम गरेको देखेका छौं,” उनी भन्छन्,“यस्तै पाराले त कहिले पो पुलबाट हिंड्न पाइएला खै ।”