जनकपुरधाम । पटक पटक ठगी आरोपमा विवादमा पर्दै आएको जनकपुरको बाबा पेट्रोल पम्पले अझै ठगी धन्दा छाडेका छैनन् ।
कैयौँ पटक पेट्रोलियममा ठगी गरेको आरोप र प्रमाणसहित समेत भेटेर कारवाही भोगेको बाबा पेट्रोल पम्पको एक शाखाले ठगी गरेको प्रमाण फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठास्थित सँचालनमा रहेको बाबा पेट्रोलमा ठगी गरेको आरोप एक उपभोक्ताले लगाएका छन् । रकम पुरै लिएर पेट्रोल कम दिएको आरोप उपभोक्ताले लगाएका छन् ।
यसअघि पनि कम पेट्रोल दिने गरेको समाचारपछि नेपाल आयल निगम र नापतौल विभागको टोलीले नापजोख गर्दा ईन्धन कम आएको प्रमाणित भएको थियो ।
विहिबार बाबा पेट्रोल पम्पमा पेट्रोल लिन गएका धनुषाकै एक युवकले रु. १६० रुपैयाँको पेट्रोल माग्दा उनको डिस्पलेमा १ लिटर ४०० एम.एल. पेट्रोल गएको देखाएपछि घोटालाको पर्दाफास भएको हो ।
“नेपाल सरकारको दर अनुसार प्रतिलिटर १६५ रुपैयाँ ६५ पैसा मूल्य भएपनि रु. १६० मै १ लिटर ४०० एमएल पेट्रोल गएपछि शंका लागेको थियो । १६५ रुपैयाँमा १ लिटर जानुपर्नेमा १६० रुपैयाँमै अर्थात करिब ६ रुपैयाँ कममै ४०० एमएल बढी पेट्रोल दिने सवाल नै उत्पन्न हुँदैनन् ।”– उपभोक्ता मोनु झाले बताए ।
यसअघि पनि त्यहाँ ईन्धन भराउँदा कम ईन्धन दिने गरेको गुनासो आईरहेको थियो । झाको गाडी रिजर्वमा रहेको अवस्थामा ३ सेकेण्डमै १ लिटर ४०० एमएल पेट्रोल कसरी गयो भनेर सोध्दा त्यहाँका कर्मचारीले बढी नै गएको भनेर जवाफ फर्काएका थिए । तर, उनको सवारी रिजर्वमा हुँदा ईन्धन हालेपछि रिजर्व खुल्नुपर्नेमा रिजर्व समेत नखुलेको र तेल गएको महसुस नै नभएपछि उनले प्रश्न तेर्साएका थिए ।
ज्ञातव्य छ, बाबा पेट्रोल पम्पमा एक लिटरको बोतलमा भने कहिले पनि पेट्रोल नदिने गरेको गुनासो छ । लिटरमा कम ईन्धन दिँदै आएको बाबा पेट्रोल पम्पको नैतिक बेईमानीको कारण पटक पटक कारवाहीमा समेत परेको हो ।
झाले सो पेट्रोल पम्पमा रुपैयाँ पुरा लिएर कम ईन्धन दिने गरेको भन्दै सो पेट्रोल पम्पमा कसैलाई ईन्धन नभराउन सल्लाह दिए । उनले सरोकारबाला निकायले यथाशिघ्र चेकजाँच गरी कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।