जनकपुरधाम । धनुषा र सिरहा जोड्ने कमला नदीमा पानीको सतह बढेपछि एक मात्र विकल्पको रुपमा रहेको झोलुँगे पूल पनि बन्द भएको छ ।
१५०० मिटर लामो झोलुँगे पुलमा मोटरसाईकलको ओभरलोड भएपछि दुवै तर्फबाट आवतजावत बन्द गरिएको हो । पुलले थेग्न सक्ने लोडभन्दा अधिक आवतजावत हुन थालेपछि पूल बन्द गरिएको हो ।
स्वयँसेवकमा खटेका स्थानीय विनोद कुमार मण्डलले प्रहरी प्रशासनलाई बारम्बार गुहारेपनि मदत नगरिदिँदा पूल बन्द गर्नुपरेको दुःखेसो पोखे । उनले ४००० जनाको लोड थेग्न सक्ने क्षमता भएको पूलमा मोटरसाईकल अधिक गुडन थालेपछि पूलबाट आवतजावत बन्द गरिएको हो ।
धनुषा तर्फबाट ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरीले मद्दत गरेपनि सिरहाबाट कुनै प्रहरी मद्दत नगरिदिँदा भीड अनियन्त्रित भएको हो । भीड बढन थालेपछि पूल ड्यामेज हुन सक्ने असरलाई मध्यनजर गरी पूल बन्द गरिएको मण्डलले जानकारी दिए ।
कमला पूल भाँसिएपछि अहिले सिरहा र धनुषा आवतजावतको लागि भारतको जयनगर वा पूर्वपश्चिम राजमार्गको लामो दुरी तय गर्नुपर्ने बाध्यता भएको छ । कमला नदीमा पानीको सतह बढेपछि बनाईएको अस्थायी पूल समेत भाँसिएको हो । त्यसपछिको विकल्पको रुपमा रहेको झोलुँगे पूलमा व्यवस्थापन नहुँदा सो पनि बन्द भएको हो ।