जनकपुरधाम । सिरहाको औरही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सर्वजित झा र लेखापाल देबेन्द्र यादव कार्यालयमा बस्ने गरेका छैनन् ।
सरकारले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई मनसुन अवधिभर स्थानीय तह नछाड्न निर्देशन दिएको छ । औरहीका प्रमुख प्रशासकीय अधिकृत झा भने सरकारको निर्देशन समेत पाल्न गरेका छैन ।
अधिकृत झा आज करिब १२ बजे कार्यालय आएका थिए । उनी हाजिर गरे । त्यसपछि ‘खाना खाएर आउँछु’ भनेर कार्यालयबाट निस्केका उनी टाप कसेको बुझिएको छ ।
गत आवमा विकास निर्माणको काम गरेका उपभोक्ता र निर्माण कम्पनीहरुलाई भुक्तानीको चेक अझै कार्यालयले दिएको छैन । स्रोतका अनुसार जनप्रतिनिधि र कर्मचारीबीच कमिशन कति प्रतिशत उठाउने विषयमा कुरा नमिल्दा चेक वितरण रोकिएको छ ।
लेखापाल यादव सिरहा सदरमुकामस्थित सलहेश मन्दिर छेउमा रहेको वकिल राजदेवको घर भाडामा लिएर बस्छन् । उनी आवको अन्तिम दिन पनि कार्यालयमा आएनन्, कोठामै बसेर चेक काटे । स्रोतका अनुसार अधिकृत झा चेकमा हस्ताक्षर गरेका छैन ।
अधिकृत झा जनकपुरधाम बस्छन् । यहाँबाट जनकपुरधाम करिब १२० किलोमिटर टाढा छन् । उनी महिनामा १० दिन पनि कार्यालयमा हाजिर हुने नगरेको कर्मचारीहरु नै बताउँछन् ।