अप्पन जनकपुर
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको सरकारमा मन्त्री पठाउने विषयमा आन्तरिक छलफल बढाएका छन् ।
ओली भोलि प्रधानमन्त्री नियुक्त हुने भएपछि कांग्रेसले पार्टीका इतर पक्षका नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापासहित पार्टीका शीर्ष नेताहरूसँग बेग्लाबेग्लै छलफल गरेका हुन् ।
देउवाले यसपछि पार्टीभित्र सन्तुलन मिलाएर विवाद नआउनेगरी पार्टीबाट सरकारमा मन्त्री पठाउने तयारी गरेका छन्। पार्टीबाट मन्त्री बनाउन मापदण्ड बनाउनको लागि आजै केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखेका हुन् ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति हुने उनले बताए ।
देउवाले यसपटक आफूलाई १४ औं महाधिवेशनमा साथ दिएका प्रकाशमान सिंहको नेतृत्वमा ओली सरकारमा मन्त्री पठाउने तयारी गरेका छन्। स्रोतका अनुसार अहिलेसम्म सिंहसहित रमेश लेखक, आरजु राणा, जीवन परियार र अजय चौरासियाको मन्त्री बन्ने निश्चित भएको छ ।
एमालेसँगको सहमति अनुसार कांग्रेसले बढीमा १० मन्त्रालय पाउनेछ। अहिलेसम्म मन्त्री बन्ने निश्चित भएका परियार शेखर समूहका हुन्। अरु चार जना देउवानिकट कै हुन् ।
सहमहामन्त्री समेत रहेका परियारले आजको बैठकमा मन्त्री बनाउने मापदण्डबारे छलफल हुने बताए। उनले भने, ‘मन्त्री कसलाई पठाउने भन्ने अहिलेनै टुंगिसकेको छैन। मैले पनि आकांक्षा राखेको छु, अब पार्टीले के निर्णय गर्छ ।’
पाँच जनाको नाममा अनौपचारिक सहमति भएपनि थप मन्त्रीको विषयमा देउवाले छलफल गरिरहेका छन्। १४ औं महाधिवेशनबाट देउवा निकटमा रहेका शशांक कोइरालाले पनि एकजना मन्त्री भाग पाउँदैछन् ।
उनले संखुवासभाका दिपक खड्का र दाङका दिपक गिरीमध्ये एकलाई पठाउने तयारी गरेका छन्। तर, खड्काको सम्भावना बलियो रहेको बताइन्छ। उनी शशांकसँग देउवा गुटमा पनि नजिकिँदै गरेकाले देउवाले पनि खड्काको नाममा सहमति जनाउने सम्भावना धेरै छ ।
यस्तै, कर्णाली प्रदेशबाट मुगुका ऐनबहादुर शाही र सुर्खेतका हृदयराम थानीमध्ये एकजना मन्त्री बन्दैछन्। थामी शेखर समूहका हुन् तर, तर पुर्णवहादुर खड्का देउवा परिवारसँग दूरी बढ्दै गएपछि थानीले सम्बन्ध सम्बन्ध बढाएको चर्चा चलेको छ ।
यस्तै, कांग्रेसका पूराना नेता अर्जुननरसिंह केसी र रामनाथ अधिकारीबारे पनि मन्त्री छलफल भएपनि दुवै नहुन सक्ने स्रोतले बतायो ।
ओली क्याबिनेटमा सहमहामन्त्री किशोर सिंह राठोर, विनोद चौधरी, उदय शमशेर राणा पनि मन्त्रीको दाबेदार थिए तर, देउवाले आफू प्रधानमन्त्री भएको बेलामा मन्त्री बनाउने भन्दै मनाउने प्रयास गरिरहेका छन्। एमालेसँगको सहमतिअनुसार ओलीपछि चुनावी सरकारको नेतृत्व देउवाले गर्नेछन् ।
राठोरले कांगे्रेसका आफू निकटस्थहरुसँग ‘केपी ओलीको अनुहार पनि हेर्न मन छैन तर पनि परिस्थितिले उनकै क्याबिनेटमा जानुपर्ने हुँदैछ’ भनेर बोलेको कुरा अहिले कांग्रेस वृत्तमा चर्चित छ । तर, राठोरले भने यही यही क्याबिनेटमा मन्त्री बन्न सबै शक्ति लगाइरहेका नेताहरू बताउँछन्।
यस्तै, शेखर समूहका नेता चन्द्र भण्डरीले पनि मन्त्री बन्नका लागि देउवा र शेखर ‘इमोसनल कुरा’ गरिरहेका छन्। तर, अझै मन्त्री बन्ने नबन्ने सुनिश्चित भइनसकेको बताइन्छ।
महामन्त्री गगन थापाले पनि आफ्नो कोटामा काठमाडौंबाट निर्वाचित प्रदीप पौडेललाई पठाउन देउवालाई दबाब दिइरहेका छन्। तर, पौडेलको नाममा देउवा सकारात्मक भइसकेका छैनन्। थापाले अझै पनि देउवालाई प्रदिपको पक्षमा मनाउने प्रयास भने छाडेका छैनन् ।
यसपटक सरकारमा मन्त्री पठाउँदा राष्ट्रपति रामचन्द्र पौडेलको कोटाबाट पनि एकजना मन्त्री बन्ने सम्भावना छ। राष्ट्रपति पौडेलले सप्तरीको तेजुलाल चौधरीलाई मन्त्री बनाउन देउवालाई आग्रह गरेका छन् ।
राष्ट्रपतिले आग्रह गरेपछि १० मन्त्री पाउने सहमति एमालेसँग भएपनि तेजुलालको नाम ११ औं नम्बरमा छलफल भइरहेको कांग्रेस स्रोतले बतायो ।