अप्पन जनकपुर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई भोलि नियुक्त गर्ने भएपनि शपथ ग्रहण सोमबार हुने बताइएको छ ।
नयाँ सरकारको लागि दाबी पेश गर्न गरिएको शीतल निवासको आव्हान आइतबार साँझ ५ बजेसम्मै भएकाले शपथ ग्रहण पर्सिलाई तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
ओलीको नियुक्ति भोलि र शपथ ग्रहण सोमबार बिहान ११ बजे हुनेछ ।
संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न एमाले र कांग्रेसले राष्ट्रपतिलाई सांसदहरूको हस्ताक्षरसहित शुक्रबार बेलुका दाबी बुझाइसकेका छन् ।
यी दुई दलले मन्त्रालय बाँडफाँटको मोडालिटीसमेत टुंग्याएका छन् । कुन दलले कुन मन्त्रालय पाउने भन्ने पनि लगभग टुंगिसकेको बताइएको छ ।
ओलीले प्रधानमन्त्रीको शपथ लिएसँगै केही मन्त्रीहरूको पनि शपथग्रहण गर्नेगरीको तयारी छ । केही साना दलका लागि समेत मन्त्रालय राखेर कांग्रेस र एमालेले समान हैसियतमा बाँडफाँट गर्ने सहमति बनेको छ । देउवा र ओली बसेर मन्त्रालय बाँडफाँट तथा आ-आफ्ना पार्टीका मन्त्रीको नाम समेत तय गरिसकेको बताइन्छ ।