भारतको जम्मु कश्मिरमा आतंकवादी आक्रमणमा परी ५ सुरक्षाकर्मी मारिएका छन् । जम्मु कश्मिरस्थित डोडा जिल्लामा भएको आक्रमणमा सेनाका क्याप्टेनसहित चार सैनिक जवान र एक प्रहरी मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आतंकवादी गतिविधि भइरहेको भन्दै राष्ट्रिय राइफल्स र जम्मु कश्मिर प्रहरीले सोमबारदेखि नै डोडा जिल्लाको देसा जंगलमा सर्च अपरेशन चलाएका थिए । सोमबार राति सवा ९ बजे आतंकबादी समूहले गरेको आक्रमणमा पाँच सुरक्षाकर्मी मारिएका हुन् । सैनिक र प्रहरी बलले उक्त क्षेत्रमा स्थल र हवाई गस्ती जारी राखेको बताइएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार हमलाको जिम्मेवारी जैश-ए-मोहम्मदसँग जोडिएको संगठन कश्मिर टाइगर्सले लिएको छ । संगठनले हमलामा १२ जना जवान मारिएको दाबी गरेको छ । रक्षामन्त्री राजनाथ सिंहले उक्त हमलाको बिफ्रिङ लिनुका साथै हमलामा मृत्यु भएका जवानप्रति समवेदना व्यक्त गर्नुभएको छ ।