कर्मचारी राजनीतिमा भाग लिए जागिर चट्ट हुने विनियमावलीमा छ प्रावधान
जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जन झा नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । पार्टीका नेताकार्यकर्ताहरूले झा पार्टीको दसौँ महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा चयन भएको भन्दै सामाजिक सञ्जालमा उनको तस्बिरसहित बधाई एवम् शुभकामना दिइरहेका छन् ।
पूर्ण लामाले बनाएको नेकपा एकीकृत समाजवादी नामक फेसबुक ग्रुपमा समेत नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक झालाई पार्टी केन्द्रीय सदस्य भएकामा बधाई दिनेको लर्को छ ।
लिमिटेडको प्रबन्ध सञ्चालकमा झाको दोस्रोपटक गत २०८० भदौ १५ गते नियुक्ति भएको थियो । दोस्रोपटक प्रबन्ध सञ्चालक नियुक्त हुँदा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला सङ्घीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए ।
नेपाल सरकारको पूर्ण स्वामित्व रहेको लिमिटेडका प्रबन्ध सञ्चालकको नियुक्ति सङ्घीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गर्ने प्रावधान छ । झा दोस्रोपटक नियुक्त हुनुअघि पनि नेपाल रेल्वे कम्पनी लिमिटेडका सोही पदमा नियुक्त भएका थिए ।
संसद्को अघिल्लो कार्यकालमा केपी ओली सरकारको पतन लगत्तै तत्कालीन प्रबन्ध सञ्चालक गुरु भट्टराईले राजीनामा दिएपछि शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला र विभागीय मन्त्री नियुक्त भइनसकेको अवस्थामा झाले प्रबन्धक सञ्चालकको नियुक्ति प्राप्त गरेका थिए । तत्कालीन देउवा सरकारमा नेकपा एमालेबाट अलग भएका माधव नेपालको दबाबमा झालाई त्यतिबेला नियुक्त गरिएको चर्चा चलेको थियो ।
प्रबन्ध सञ्चालक पद राजनीतिक नियुक्ति प्रकृतिको मानिए पनि यो जिम्मेवारीमा रहेका व्यक्तिले लिमिटेडको कर्मचारी प्रशासन विनियमावलीको अधीनमा रहेर काम गर्नुपर्ने हुन्छ । सो विनियमावलीको दफा १९ ले कर्मचारीले राजनीतिक दल वा दलसँग आबद्ध संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन निषेध गरेको छ ।
सोही विनियमावलीको दफा १२२ को (ङ) ले राजनीतिमा भाग लिएमा सेवाबाट हटाउने वा बर्खास्त गरिने भनेको छ ।
प्रबन्ध सञ्चालक झाले नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य चयन भएका निरञ्जन झा आफू नभई आफ्नै नाउँ गरेका रौतहटका मानिस भएका र भ्रमवश साथीभाइले आफूलाई शुभकामना दिइरहेको बताए ।
तर, सामाजिक सञ्जालमा पार्टीका जिम्मेवार व्यक्तिहरूले सप्तरीबाट निरञ्जन झासहित गोविन्दबहादुर न्यौपाने, अनारदेवी चौधरी, उषा पोखरेललगायतलाई बधाई दिइरहेका छन् । प्रबन्ध सञ्चालक झा सप्तरीका हुन् । उनी प्रबन्ध सञ्चालक रहँदै पार्टीका औपचारिक कार्यक्रममा सहभागी भएका तस्बिरसहितको समाचार विभिन्न सञ्चारमाध्यमले यसअघि पनि प्रकाशित गरिसकेका छन् ।
नेकपा एकीकृत समाजवादीको मधेश प्रदेशसभामा संसदीय दलका नेता गोविन्दबहादुर न्यौपानेले केन्द्रीय सदस्य नियुक्त भएका झा सप्तरी निवासी रेल्वेका प्रबन्ध सञ्चालक निरञ्जन झा नै रहेको बताए । कम्युनिस्ट पार्टीमा केन्द्रीय सदस्य पार्टीका संगठित सदस्यबाटै बनाउने अभ्यास छ ।
नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले निरञ्जन झा नाउँ गरेका कुनै व्यक्ति रौतहटमा पत्रकारिता वा राजनीतिमा संलग्न नभएको र रेल्वे प्रबन्ध सञ्चालक झा नै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यमा मनोनीत गरिएको दाबी गरे ।