जनकपुरधाम । हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीमा पुल बनाउन माग गर्दै सिरहामा प्रदर्शन भएको छ । सिरहा सदरमुकाममा स्थानीयबासीले प्रदर्शन गरेका हुन् ।
कमला पुल निर्माण संघर्ष समितिमार्फत उनीहरुले बिहीबार महावीर चोकदेखि थाना चोकसम्म नारा-जुलुस गर्दै प्रदर्शन गरेका थिए । संघर्ष समितिका अनुसार आउँदो आइतबार सिरहाको बसबिट्टादेखि जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म मोटरसाइकल जुलुस निकाल्ने कार्यक्रम छ । ‘कमलाको पुल हुलाकी सडकको मेरुदण्ड हो,’ संघर्ष समितिका संयोजक प्रवीण यादवले भने, ‘तर, यो पुल नहुँदा हामीले वर्षौंदेखि सास्ती खेप्दै आएका छौं, सरकारले आफैं सोच्नु पर्थ्यो, तर हामीले आन्दोलन गर्नुपरेको छ, यो दुर्भाग्य हो ।’
यसअघि गत जेठमा चालु आर्थिक वर्षको बजेट सार्वजनिक हुनुअघि पनि स्थानीयले सिरहामा आन्दोलन गरेका थिए । बजेटमा कमला पुल निर्माणको सुनिश्चितता गर्ने गरी बजेट विनियोजन हुनुपर्ने उनीहरूको माग थियो । तर, सदरमुकाममा बजारदेखि सरकारी अड्डासम्म बन्द गरेर तीन दिनसम्म आन्दोलन भए पनि बजेटमा कमला पुलका विषयमा कुनै सम्बोधन भएन । जसका कारण स्थानीय फेरि आक्रोशित बनेका हुन् ।
पुल शिलान्यास भएको १३ वर्ष बितिसकेको छ । धनुषा र सिरहा जोड्ने कमलामा ४ सय ७० मिटर लामो र ११ मिटर चौडाइको पुल साढे तीन वर्षभित्रै निर्माण गरिसक्ने गरी २४ करोड ९१ लाखमा २०६८ मंसिरमा पुल बनाउन शिलान्यास भएको थियो । पुल निर्माणको ठेक्का पाएको पप्पु लुम्बिनी बिल्डर्स जेभी कन्स्ट्रक्सनले तोकिएको मितिमा पुल नबनाएपछि पटक-पटक म्याद थपिए पनि अहिलेसम्म पुल बन्न सकेको छैन ।
२०७५ पुसमा रामरिझन यादवको नेतृत्वमा हुलाकी सडक संघर्ष समितिले रिले अनशन थालेपछि हुलाकी राजमार्ग निर्देशनालयले पप्पु कन्स्ट्रक्सनबाट सो ठेक्का खोसेर २०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनलाई २०७८ असार १३ भित्र काम सक्ने गरी जिम्मा लगाएको थियो ।
निर्माण सकेर उद्घाटनको तयारी भइरहेकै बेला २०७८ असार १७ मा सानो बाढी थेग्न नसकेर पुल भासियो । अहिले लुम्बिनी बिल्डर्सले पुल पुनर्निर्माण त गरिरहेको छ तर, आर्थिक समस्या देखाउँदै अपेक्षित ढंगले काम गरिरहेको छैन ।