काठमाडौं । ‘मलाई प्रष्ट पार्न दिनुहोस् की कोही पनि कानुनभन्दा माथि छैन । न राजनीतिज्ञ, न पुजारी, न अपराधी न त प्रहरी नै । हामी सबै हाम्रा कर्मअनुसार हर्जाना तिर्न तयार हुनुपर्छ । एक कानुनका रक्षकले मात्र यस्तो सोच राख्न सक्छ, प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलको बुझाई छ ।
कानुनको खिल्ली उडाउने देशमा इमान्दार भएर काम गर्नु कम चुनौती होइन । वेथिति हर क्षेत्रमा छ । थिति कसरी बसाल्ने ? यहाँ थितिका लागि मिति तोकिन्छ । तर, मिति तोक्न हुन्न भन्ने विचार एसपी ढुंगेलको छ ।
पर्सा देशकै सबैभन्दा अति संवेदनशील जिल्ला हो । जसकारण धेरै नै चुनौतीका बाबजुद पनि विगत ६ महिनादेखि पर्सा जिल्लाको कमाण्ड सम्हालिरहेका ढुंगेलले आफ्नो कार्यकालमा समग्र शान्ति सुरक्षा र अपराध अनुसन्धानमा कहिँकतै चुकेको छैनन् ।
यसअघि प्रहरीका हाकिमहरु पर्सा जिल्लाको नेतृत्व लिएपछि अनेकन विवादमा मुछिन्थे, मुछिने गरेका थिए । तर, ६ महिनासम्म एसपी ढुंगेल कुनै पनि एउटा विवादमा मुछिएका छैनन् । जसकारण त्यहाँ कार्यरत प्रहरीहरुको समेत मनोबल बढेको अवस्था छ ।
त्यतिमात्र नभएर जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत तल्लो दर्जाका प्रहरी कर्मचारीहरु कमाइ हुनेखालको मातहतको चौकी जान मरिहत्ते गर्थे । नेताहरुमार्फत भनसुन गराएर आफूले भनेको चौकीमा गएर राज गर्ने गरेको धेरै पाइएको थियो ।
तर, एसपी ढुंगेलले त्यो जालो समेत तोडेका छन् । जिल्लामा कार्यरत तल्लो दर्जाका प्रहरी कर्मचारीलाई सीमा नाकाको चौकीहरुमा पठाउँदा समेत जान मान्दैनन् । यसको कारण हो, सीमान नाकाबाट हुने तस्करीमा पूरै कडाई ।
एसपी ढुंगेलले सीमा नाकामा हुने तस्करीलाई कडाई गर्दा तस्करहरुको भागाभाग भएको छ भने कमाइ हुने सोचले गएका प्रहरीहरु जिल्लामा दरबन्दी कायम गर्न लागिपरेका छन् । यसरी ढुंगेलले जालो तोडेपछि सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीलाई समेत सहज भएको छ ।
अहिले भन्सार प्रमुखको समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्करीमा कडाइ गरेको भन्सारकै एक कर्मचारी बताउँछन् । ‘अहिलेसम्म यस्तो कडाइ भएको पहिलोपल्ट हो,’ २ बर्षदेखि कार्यालयमा कार्यरत ती कर्मचारी भन्छन्,’तस्करीमा भएको कडाइ देखेर म आफै अचम्मित छु ।’
पर्सा जिल्लाको कमान्ड सम्हालेसँगै एसपी ढुंगेलले अपराध तथा तस्करी नियन्त्रण गरी राजस्व वृद्धिमा प्रहरीले अहम् भूमिका खेलेको छ । विभिन्न अवैध कारोबारीबाटै सीमा क्षेत्रमा आपराधिक कार्य हुने गरेको भन्दै पर्सा प्रहरी तस्करी नियन्त्रणमा केन्द्रित भएको हो ।
एसपी ढुंगेल प्रहरी संगठनमा खरो स्वभावका अधिकृत हुन् । निडर र साहसिक क्षमताका ढुंगेल जहाँ कार्यरत रहँदा पनि संगठनको लागि काम गर्ने अधिकृतको रुपमा चिनिन्छन् ।
‘इन्काउन्टर स्पेसलिस्ट’को रुपमा समेच चर्चित एसपी ढुंगेलले विशेष गरेर अपराध अनुसन्धानको क्षेत्रमा विभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गरेर आफूलाई अब्बल साबित गरेका छन् । अपराध नियन्त्रण र गुण्डाहरुलाई तह लगाउने विषयमा निपूर्ण मानिन्छन् ।
कानुन कार्यान्वयन गर्ने निकाय प्रहरीको सक्रियता र तदारुकताले नै समाजमा पीडितमैत्री वातावरण निर्माण हुने उनको बुझाइ छ । समाजमा पीडक खुलेआम हुने र पीडित झन् तनावमा पर्नुपर्ने अवस्था आउन नदिन प्रहरीको सक्रियता बढाइएको उनले बताए ।
‘जसकारण आजसम्म पर्सा प्रहरीले गल्ती गर्यो भनेर एकजना सर्वसाधारण समेत जिल्ला परिसरमा आउन परेको खबर सुनिएको छैन्,’ एसपी ढुंगेलले भने, ‘साँच्चै नै मनले चाहेर काम गर्ने हो भने जस्तोसुकै काम पनि सहज तरिकाले हुनेमा विश्वस्त छु ।’
जिल्ला प्रहरी प्रमुखको रुपमा कार्यरत रहँदा आफूले मूलतः तीनवटा बिषयलाई बिशेष प्राथमिकता दिएर काम गर्ने उनी बताउँछन् । ती कामहरु हुन्, पहिलो अपराध नियन्त्रण र अनुसन्धान, दोस्रो तस्करी र चोरी निकासीको नियन्त्रण र तेस्रो जनचाहना अनुरुपको प्रहरी सेवा ।
काम र एक्सनमा बिश्वास गर्ने उनी प्रचार-प्रसार र मिडियामा भने कमै मात्रमा छाउँछन् । प्रचार-प्रसारमा भन्दा बढी काम गर्न रुचाउने एसपी ढुंगेल प्रहरी संगठनमा जवानदेखि अधिकृतसम्मलाई एउटै व्यवहार गर्छन् । जसले गर्दा काम गर्ने प्रहरी जवानहरुको मनोबल उच्च राख्नेछ ।
अपराध अनुसन्धानमा दख्खल राख्ने उनी प्रहरी संगठन र नेतृत्वको कुरामा सधैं अडिग रहन्छन् । छिट्टै अरुलाई विश्वास गर्ने उनी शालिन र भद्र स्वभावका प्रहरी अधिकृत हुन् ।