अप्पन जनकपुर
जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामको मुख्य प्रवेशद्वार तथा पूर्वपश्चिम राजमार्गसँग जोडिएको नेपालकै ठूलो पार्कका तीन वटै कुनामा राखिएको नेपालको राष्ट्रिय झन्डा दोस्रो पटक फेरिएको छ । नेपालको पहिचान, सम्मान र राष्ट्रियतासँग जोडिएको राष्ट्रिय झन्डा पुरानो भएर मैला देखिन थालेपछि नयाँ फेरिएको हो ।
ढल्केवर चोकमा गतवर्षको साउन महिनामा राष्ट्रिय झन्डा ठड्याइएको थियो भने पहिलो पटक फागनु महिनामा झन्डा फेरिएको थियो । लायन्स क्लब अफ मिथिला, मिथिला उद्योग बाणिज्य संघ, खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, मिथिला ब्याडमिन्टन क्बल र मिथिला युवा सञ्चाल ढल्केवरले झन्डा बदली गरेका हुन् ।
झन्डा राखेपछि चोक सुन्दर देखिएको स्थानीयको भनाइ छ । मिथिला लायन्स क्लब अफ मिथिलाका अध्यक्ष शिव तिमल्सिनाले घामपानीको असरले झन्डाको रङ् खुइलिएर पुरानो देखिन थालेकाले नयाँ फेरिएको बताए । उक्त अवसरमा पार्कको सरसफाइ समेत गरिएको उनले जानकारी दिए ।
त्यस अवसरमा सम्पूर्ण संस्थाका पदाधिकारी, स्थानीय व्यापारी, बुद्धिजीवि सुरक्षाकर्मीको उपस्थिति थियो ।