अप्पन जनकपुर
जनकपुरधाम । दशैं, तिहार र छठको बेलामा हुने यात्रुको चापलाई ध्यानमा राखेर जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले यात्रु सहायता कक्षा (हेल्प डेस्क) स्थापना गरेको छ ।
चाडबाडमा हुने भीडभाडमा यात्रुको सहजताका लागि जिल्लाका विभिन्न स्थानहरुमा यात्रु सहायता कक्षा स्थापना गरिएको हो ।
यात्राका क्रममा असहजता महसुस भए ती सहायता कक्षामा उजुरी वा गुनासो गर्ने व्यवस्था गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।
यात्रु सहायता कक्षको बिहीबार मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणी आचार्यले उद्घाटन गरे । यात्रु सहायता कक्षामार्फत ट्राफिक नियम सचेतना गराउने, क्षमताभन्दा बढी यात्रु राखेको, तोकिएभन्दा बढी भाडा लिएको विषयमा चेकजाँच गर्ने प्रहरी निरीक्षक वलीले बताए ।
‘चाडवाडका समयमा यात्रुको चाप बढी हुन्छ । ओभरलोड गरिएको हुन सक्छ । बढि भाडा असुलिएको हुन सक्छ । यात्रुको सामान छुट्न सक्छ,’ उनले भने, ‘यात्राका क्रममा कसैलाई समस्या भएको अवस्थामा सहजताका साथ प्रहरी सेवा उपलव्ध गराउन सहायता कक्ष सुरु गरिएको हो । त्यहाँबाट चौबिसै घण्टा सेवा दिने व्यवस्था मिलाइएको छ ।’
सहायता कक्षको शुभारम्भ गर्दे प्रहरी नायव महानिरीक्षक आचार्यले चाडवाडको समयमा सुरक्षा निकायहरूको नागरिकप्रतिको दायित्व अझै बढी हुने भएकाले अप्ठ्यारोमा परेका यात्रीहरूको सहायताका लागि यी कक्षहरु स्थापना गरिएको बताए ।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले यात्रीहरूको सहजताका लागि स्थापना भएको नागरिक सहायता कक्षले सवारी दुर्घटना न्यूनीकरणका लागि चालकहरूलाई सचेत बनाउने आशा व्यक्त गरे ।
त्यस्तै, धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले चाडपर्वमा यात्रुहरूलाई समस्या नहोस् त्यसका लागि पूर्वतयारी गरिएको जानकारी दिँदै चाडपर्वको दिन गन्तव्यसम्म यात्रुहरू पुग्न नसके त्यसका लागि थप चालक तथा सवारी साधनको व्यवस्थापन गरिने बताए ।
जनकपुरधामको बसपार्क, रामानन्द चोक, पोर्ताहा, ढल्केवर र लालगढलगायत स्थानमा यात्रु सहायता कक्षको स्थापना गरिएको हो ।