जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ पर्ने तेतरिया गाउँमा हिन्दु सम्राट सेनाले लगाएको ‘हिन्दु गाउँ’ को बोर्डलाई प्रहरीले पोतेको छ ।
जनकपुरधामको पुलचोकदेखि पूर्व रहेको वडा नं. १७ को तेतरिया गाउँलाई हिन्दु सम्राट सेनाले ‘हिन्दु गाउँ’ भनेर सम्बोधनसहितको बोर्ड लगाएपछि प्रशासनले मिटाएको हो ।
सो गाउँमा शतप्रतिशत हिन्दु धर्मावलम्बीहरुको बसोबास रहेको भन्दै हिन्दु सम्राट सेनाले ‘हिन्दु गाउँ तेतरिया’ भनेर बोर्ड लगाएको थियो । प्रहरी चौकी कपिलेश्वरबाट खटि गएको प्रहरीले बोर्डलाई मिटाएको हो ।
यता, जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला सुरक्षा समितिको निर्देशन अनुसार बोर्ड पोतिएको बताएको छ । धार्मिक सदभाव खलबलिने गरी क्रियाकलाप नगर्न आग्रह गर्दै यस्ता गतिविधि उपर धनुषा प्रशासनको निगरानी रहेको बताएको छ ।
धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले जनकपुरधाम कहिले पनि धार्मिक हिँसा नभएको पवित्र ठाउँ रहेको बताउँदै यो भूमिमा धार्मिक सदभाव खलबलिने खालको गतिविधि गर्न नदिने बताए । एसपी तिवारीले जुनसुकै समुदायको भएपनि यस्ता गतिविधि मान्य नहुने बताए ।
एसपी तिवारीले जनकपुरधाम क्षेत्रमा सबै धर्म, जातजातीको सौहार्द बसोबास रहेको बताउँदै सौहार्द बिगार्ने कार्य कसैले नगर्न आग्रह गरे ।