जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाले चालु आर्थिक बर्ष २०८१/०८२ को लागि ५३ करोड बढी बजेट ल्याएको छ ।
सोमबार सम्पन्न ११औँ गाउँसभाबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुतिकरणको क्रममा गाउँपालिका उपाध्यक्ष कमला सहगलले ५३ करोड ५० लाख ६१ हजार ९४३ रुपैयाँ बजेट अनुमान गरिएको सुनाइन् ।
संघीय सरकारबाट वित्तिय समानिकरण तर्फ ९ करोड ४८ लाख रुपैयाँ, सशर्त अनुदान र चालु पूँजीतर्फ २४ करोड ३९ लाख १२ हजार रुपैयाँ तथा राजस्व बाँडफाँड तर्फ ७ करोड ७३ लाख रुपैयाँ प्राप्त भएको छ । विशेष अनुदान तर्फ ९० लाख, सम्पूरक अनुदानतर्फ १ करोड, सरकारबाट वित्तिय समानिकरणमा ६६ लाख ३१ हजार, प्रदेश सरकारबाट विशेष अनुदान तर्फ ३० लाख र सम्पूरक अनुदानबाट २० लाख रुपैयाँ प्राप्त भएको उल्लेख छ ।
सवारी साधन कर बाँडफाँड ३२ लाख र आन्तरिक स्रोतबाट ८ करोड ४२ लाख १८ हजार ९४३ गरी कुल ५३ करोड ५० लाख ६१ हजार ९४३ रुपैयाँ बजेट अनुमान गरिएको हो ।
११औँ गाउँसभाको लागि प्रमुख प्रशासकीय अधिकृत अयोधी दासले जनप्रतिनीधिसँग पहलकदमी गरेका थिए । गाउँपालिका अध्यक्ष दिपिनदेव यादव र वडाध्यक्षहरुबीचको आपसी समझदारी बलियो भएपछि गाउँसभाको लागि तयार भएको बताईएको छ । गाउँपालिकाभित्र रहेको विभिन्न दलका प्रतिनीधिहरुको साथ, सहयोगपछि गाउँसभा गरिएको हो । गाउँसभा विवादरहित रुपमा सम्पन्न भएको गाँपा अध्यक्ष यादवले जनाए ।
११औँ गाउँसभाको लागि वडा नं. १ का वडाध्यक्ष सँतोष गोईत, २ का अब्दुल मालिक शेख, ३ का विष्णुदेव साह बनियाँ, ४ का दिलिप कुमार यादव, ५ का अशोक कुमार मण्डल र वडा नं. ६ का वडाध्यक्ष सूर्यदेव यादवले सहजीकरणको साथै आ आफ्ना मनतव्य राखेका थिए ।
गाउँसभामा गाउँपालिकाका सम्पूर्ण कर्मचारी, स्वास्थ्यकर्मी, बुद्धिजीव, पत्रकार, अधिकारकर्मी, वडाससदस्यहरु, सुरक्षा निकायका पदाधिकारीहरु, विभिन्न राजनीतिक दलका प्रतिनीधिहरु, नेतागणहरुले मोटो सहभागीता जनाएपछि गाउँसभा सौहार्दपूर्ण भएको थियो ।
गाउँपालिकाका नायब सुब्बा रामनरेश ठाकुरले कार्यक्रम सँचालन गरेका थिए ।