जनकपुरधाम । मधेश प्रदेश सरकारले आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुन सफल राष्ट्रिय टोलीमा रहेका मधेश प्रदेशका खेलाडीहरुलाई नगदसहित सम्मान गर्ने भएको छ ।
छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक विश्वकपमा स्थान सुरक्षित गराउन भूमिका खेलेका उनीहरूलाई प्रदेश सरकारअन्तर्गत खेलकुद तथा समाज कल्याण मन्त्रालयले जनही १ लाख ५१ हजार नगदसहित सम्मान गर्ने मन्त्री प्रमोद जयसवालले जनाएका छन् ।
राष्ट्रिय टोलीमा कप्तान पुजा महतो, सना प्रविन र अलिशा कुमारी यादव मधेश प्रदेशका खेलाडी हुन् । उनीहरूलाई प्रदेश सरकार खेलकुद मन्त्रालयले सम्मान गर्ने छ । यस्तै प्रदेश सरकारले तीन खेलाडीका बुबा आमालाई पनि खादा लगाएर सम्मान गर्ने जनाएको छ ।
यसअघि नेपाली टोली घर फर्कने क्रममै रहेका बेला नेपाल क्रिकेट संघ क्यानले सम्पूर्ण खेलाडीहरुलाई नगद २ लाख ५० हजारसहित सम्मान गर्ने घोषणा गरिसकेको छ ।
नेपालले बुधबार भएको खेलमा यूएईलाई पराजित गर्दै आगामी वर्ष जनवरीमा हुने आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा स्थान पक्का गरेको थियो ।