जनकपुरधाम । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत मधेश प्रदेशको चार जिल्लाका सात स्थानमा आज मतदान भइरहेको छ । प्रदेशको सप्तरी, धनुषा, महोत्तरी र रौतहट जिल्लाको विभिन्न सात स्थानमा बिहान १० बजेदेखि मतदान भइरहेको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर–१ र वडा नम्बर–४, धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर–१, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर–२, रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर–७, राजपुर नगरपालिका वडा नम्बर–६ र गढीमाई नगरपालिका वडा नम्बर–८ मा उपनिर्वाचन भइरहेको मधेश प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर–१ मा २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका प्रीतमलाल चौधरी निर्वाचित भएका थिए । तर उनको निधन भएपछि त्यहाँ उपनिर्वाचन भइरहेको छ । त्यस्तै सोही नगरपालिकाको वडा नम्बर–४ का वडाध्यक्षको निधनपछि उपनिर्वाचन हुँदैछ । गत निर्वाचनमा त्यहाँ नेपाली कांग्रेसका हरि प्रसाद राय ३३३ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
धनुषाको धनुषाधाम नगरपालिका–१ का वडाध्यक्ष विश्वनाथ यादवको निधन भएपछि सो पदमा पनि उपनिर्वाचन भइरहेको छ । त्यहाँ नेपाली कांग्रेसका यादव गत निर्वाचनमा ६१८ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर–२ मा गत चुनावमा नेकपा माओवादी केन्द्रका मुकेश कुमार यादव ४३३ मत प्राप्त गरी निर्वाचित भएका थिए । रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर–७ मा नेकपा एमालेका शेख खलीउल्लाह ६८३ मत प्राप्त गरी वडाध्यक्ष पदमा जितेका थिए ।
त्यस्तै रौतहटको राजपुर नगरपालिका वडा नम्बर–६ मा नेपाली कांग्रेसका शेख मोजरे आलम ५३४ मत प्राप्त गरी निर्वाचित भएका थिए । उता, गढीमाई नगरपालिका वडा नम्बर–८ पनि वडाध्यक्षको निधन भएपछि उपनिर्वाचन भइरहेको छ । गत निर्वाचनमा सो वडामा जसपा नेपालका रामाज्ञा राय यादव ७६४ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
मधेश प्रदेशको सात स्थानमा भइरहेको उपनिर्वाचनमा १०३ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।