अप्पन जनकपुर
जनकपुरधाम । युवा आवाजलाई लोकतान्त्रिक जवाफदेहिताको क्षेत्रमा सशक्त बनाउने उद्देश्यले जनकपुरधाममा आर्टिभिजम कार्यक्रमको आयोजना गरिएको छ । यस कार्यक्रमको आयोजनले कला र संवादमार्फत समुदायलाई सशक्त बनाउने कार्यलाई प्राथमिकता दिएको छ ।
कार्यक्रमको पहिलो सेसनमा संघीयतापछि मधेशमा कस्तो छ लोकतान्त्रिक जवाफदेहिता? विषयमा गहन छलफल गरिएको थियो । यस सेसनमा राजनीतिक विश्लेषक मनोज साह, महिला नेतृ विन्दु ठाकुर र नर्थ साउथ कलेक्टिभका निर्देशक राकेश मिश्रले आ–आफ्नो विचार व्यक्त गरे । उनीहरूले संघीयता लागू भएपछि मधेशको राजनीतिक परिप्रेक्ष्य र लोकतान्त्रिक जवाफदेहितामा भएका परिवर्तनहरूका बारेमा चर्चा गरे । कार्यक्रमको सहजकर्ताको रूपमा दिवकार उप्रेती उपस्थित थिए ।
दोस्रो सेसनमा लोकतान्त्रिक जवाफदेहितामा युवा : हिजो, आज र भोली विषयमा एक आकर्षक छलफल राखिएको थियो । यस सेसनमा राजर्षि जनक विश्वविद्यालयका सहायक प्राध्यापक अशोक साह, मधेशका प्रसिद्ध पैदल अनुसन्धान स्तम्भकार मन्जु यादव, अर्थशास्त्री डा. शिला मिश्र र युवा विश्लेषक रोशना झा सहभागी थिए । उनीहरूले युवाको भूमिका, लोकतान्त्रिक जवाफदेहितामा युवा शक्ति र यसको भविष्यका बारेमा गहन छलफल गरे । सञ्चारकर्मी प्रतिभा झाले यस सेसनमा सहजकर्ताको भूमिका निर्वाह गरेकी थिइन् ।
कार्यक्रमको उद्देश्य जनसमूहमा जागरूकता र सशक्तिकरण फैलाउनु रहेको आयोजक संस्था कायापलटले जनाएको छ । कार्यक्रमका वक्ताहरुले स्थानीय समुदायको राजनीतिक र सामाजिक सन्दर्भमा प्रगति र सुधारका बारेमा महत्वपूर्ण विचार प्रस्तुत गरेका थिए । जनकपुरधामस्थित राजदेवी मन्दिर गेटको उत्तरपट्टि कार्यक्रमको आयोजना गरिएको थियो ।
आयोजकले जानकारी दिए अनुसार यो कार्यक्रम भोली शनिबार पनि जारी रहनेछ र यसका विभिन्न सेसनमा अझ धेरै विचारशील व्यक्तित्वहरू र समुदायका सदस्यहरू सहभागी हुने छन् ।
यस कार्यक्रमले लोकतान्त्रिक प्रक्रिया र जवाफदेहिता सन्देशलाई जनमानससम्म पुर्याउने उद्देश्यका साथ कलाकार र संवादकर्ताहरूलाई एकत्रित गरिरहेको छ । यसले मधेश र सम्पूर्ण देशको सामाजिक र राजनीतिक परिवर्तनमा योगदान पुर्याउने आशा गरिएको छ ।
कार्यक्रममा सहभागी वक्ताहरूले लोकतान्त्रिक प्रक्रियामा युवाको भूमिका, यसको प्रभाव र समुदायको सशक्तिकरणका बारेमा किञ्चित अन्तरदृष्टि साझा गरेका थिए ।