जनकपुरधाम । मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग नबन्दा सास्ती खेप्दै आएका मिर्चैयाका बासिन्दा पुनः आन्दोलनमा उत्रने भएका छन् । मिर्चैयामा सोमबार बसेको भेलाले आउँदो बुधबारदेखि आन्दोलन थाल्ने निर्णय गरेको हो । स्थानीय जनप्रतिनिधि, अगुवा र व्यापारीसहितको भेलाबाट चरणवद्ध आन्दोलनमा जाने निर्णय भएको स्थानीय अशोककुमार साहले जानकारी दिए । उनका अनुसार, बुधबार बिहान ८ बजेदेखि पूर्वपश्चिम राजमार्गमा चक्काजाम गर्दै आन्दोलनको सुरुवात हुनेछ ।
राजमार्ग निर्माणको ठोस रूपमा टुंगो नलागेसम्म बुधबारदेखि निरन्तर रूपमा चक्काजाम गर्दै आन्दोलन जारी राख्ने निर्णय स्थानीयको छ । उनीहरूले यसका लागि यसअघि पनि पटकपटक आन्दोलन गरिसकेका छन् । तर, आन्दोलन चर्किएपछि सरकारी पक्षले वार्ता तथा सहमति गराउने र त्यसको कार्यान्वयनमा ध्यान नदिँदा पटकपटकको आन्दोलनपछि पनि राजमार्ग बन्न नसकेको भन्दै यसपालि सशक्त रूपमा आन्दोलन गर्न लागेको स्थानीय अगुवाहरूको भनाइ छ । लामो समयसम्म पनि राजमार्ग नबन्दा यहाँको व्यापार व्यवसाय ध्वस्त भएको तथा धुवाँधुलोले आजित बनेको स्थानीय भरत महासेठले बताए । ‘राजमार्गको धुवाँधुलोले स्थानीय विभिन्न रोगको सिकार मात्रै भएका छैनन्,’ उनले भने, ‘यहाँको व्यापार व्यवसाय सबै चौपट्ट भइसक्यो ।’
सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म ८६.८२ किलोमिटर चारलेन राजमार्ग निर्माणको काम २०७७ सालदेखि नै भइरहेको छ । चाइना रेलवे नम्बर २ इन्जिनियरिङ ग्रुपले २०७७ कात्तिक १३ मै १५ अर्ब ६६ करोड रुपैयाँमा निर्माणको ठेक्का पाएको थियो ।
सरकारसँग भएको सम्झौताअनुसार २०८० कात्तिक ११ भित्र निर्माण सकिसक्नुपर्ने हो । तर, समयमै काम नसकिएपछि सरकारले २०८१ पुस १० सम्मका लागि म्याद थपिदिएको थियो । तर, यो अवधिसमेत समाप्त भएपनि अहिलेसम्म राजमार्ग निर्माणको भौतिक प्रगति ६० प्रतिशत हाराहारी मात्रै छ । राजमार्ग निर्माण गर्ने भन्दै ३ वर्षअघि नै जताततै खनेर ठेकेदारले अलपत्र छाडेपछि यस सडकखण्डमा मिर्चैया सबैभन्दा बढी प्रभावित रहँदै आएको छ ।