अप्पन जनकपुर
जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासले जनगुनासोलाई कदर गर्दै बालबालिकाहरुबाट कुनै प्रकारको चन्दा शुल्क नलिन निर्देशन दिएका छन् ।
विभिन्न समुदायिक तथा संस्थागत विद्यालयहरुमा सरस्वति पूजाको नाममा चन्दा आतंक मच्चाएको जनगुनासो बढेपछि मेयर दासले सोमबार कुनै प्रकारको चन्दा वा शुल्क नलिन निर्णय गरेका हुन् ।
विदेह नगरपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार साहका अनुसार, विदेह नगरपालिकाभित्र संचालनमा रहेको सरकारी वा नीजि विद्यालयहरुले बालबालिकाहरुबाट चन्दाको नाममा अवैद्य रकम असुली गरिरहेको सूचना प्राप्त भएपछि कुनै प्रकारको चन्दा वा शुल्क नलिन निर्णय गरिएको बताए ।
उनले भने–मेयर साहबसँग धेरै जनगुनासो आयो, गरिब, विपन्न बालबालिकाहरुले पनि सरस्वति पूजाको लागि चन्दा दिनुपर्ने, नदिए छात्रवृतिबाट कटिने जस्ता प्रावधानप्रति ध्यानाकर्षण गर्नुभएको छ । उहाँसँग स्थानीयहरुले गुनासो गरेपछि यस्तो निर्णय गर्नुभएको छ ।
मेयर दासले आफू गरिब, दलितको नेतृत्व गरिरहेको बताउँदै उनीहरुलाई आईपर्ने समस्याप्रति गम्भिर भएको बताए । उनले भने, –जुन विद्यालयमा सरस्वति पूजाको लागि रकम अपुग हुन्छ, त्यहाँ हामीले व्यवस्थापन गर्नेछौँ भनेर भनिदिएको छु । सरस्वति पूजा पूजा जस्तै हुनुपर्छ, सरस्वति पूजाको नाममा विकृती मच्चाउन कुनै बालबालिकाले चन्दा दिने छैन् । पूजा प्रसादको लागि हामी छौँ । सकेसम्म विद्यालयले आफ्नो आन्तरिक स्रोतबाट पूजाआजा गर्न निर्देशन दिएको छु । कार्यन्वय गर्ने विद्यालयलको तलब भत्ता र अन्य सुविधा पनि कटौती हुनेछ ।
मेयर दासले नगरपालिकाको निर्देशन नमान्ने समुदायिक विद्यालयका शिक्षकहरुको तबल काटेर विद्यार्थीहरुलाई रकम फिर्ता गरिने जनाए । उनले नीजि विद्यालयले मनोमानी गरे स्थानीय सरकारको ऐन बमोजिम कारवाही हुने तथा अन्य कानुनी सुविधाहरु कटौती गर्ने चेतावनी दिए ।
धनुषा जिल्लामा विदेह नगरपालिकाका मेयर बेचन दास यस्ता निर्णय गर्ने पहिला जनप्रतिनीधिको रुपमा चिनिएको छ ।