राजविराज । जिल्ला प्रहरी कार्यलय सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाको मिलोमतोमा ठगी मुद्दामा पक्राउ परेका एक जना अभियुक्तलाई छाडेको आरोप लागेको छ । बुधबार विहान पक्राउ परेका ठगी मुद्दाको अभियुक्तलाई १० घण्टा नबित्दैले प्रहरीले साँझ छाडेको हो ।
‘फेन्ट’ भएको कारण देखाउँदै प्रहरीले ठगी मुद्दाका अभियुक्त बैद्यनाथ यादवलाई छाडेको पीडितहरूको आरोप छ । सप्तरी प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले भने यादवको स्वास्थ्यमा समस्या आएको कारणले रिहा गरेको दाबी गरे । उनका अनुसार यादवको स्वास्थ्यमा समस्या आएको थियो, त्यसपछि उनलाई अस्पताल लगिएको थियो ।
उनले भने, ‘यहाँको अस्पतालले थप उपचारको लागि भन्यो, त्यसपछि हामीले त्यही अनुसार उपचारको लागि जिम्माजमानी छाडेका हौं । उपचारपछि पुनः हाजिर हुने शर्तमा रिहा गरिएको हो ।’
जिम्माजमानी अभियुक्तलाई छाड्न सकिने कानुनी व्यवस्था अनुसार यादवलाई छाडिएको डिएसपी बस्नेतको दाबी छ । उनले यादवलाई रिहा गर्न कसैको दबाब नरहेको दाबी समेत गरे ।
सप्तरी जिल्लामा सर्वसाधारणको रकम लिएर लिएर पैसा छाप्ने मेसिनबाट ‘डबल’ गरिदिने भन्दै ठगी गरेको आरोपमा पत्रकार समेत रहेका यादव र रामहादुर भन्ने हनुमानी रजक पक्राउ परेका हुन् ।
यादवमाथि ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दर्ता रहेको सप्तरी प्रहरी प्रवक्ता बस्नेतले बताए ।
यादव र हनुमानीविरुद्ध १३ वटा जाहेरी परेको प्रहरी प्रवक्ता बस्नेतले जनाएका छन् । अहिलेसम्म यो समूहले करिब अढाइ करोड रुपैयाँ ठगी गरेको आरोप छ ।