जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–७ स्थित भ्रमरपुरा चोकमा रहेको रामलला लक्ष्मी फर्निचर उद्योगमा आइतबार दिउँसो भीषण आगलागी भएको छ।
दिउँसो १२:३० बजे सुरु भएको आगलागीले फर्निचर बनाउन प्रयोग हुने फोम, काठलगायतका सामग्री तथा तयारी अवस्थामा रहेका लाखौँ मूल्य बराबरका फर्निचरका सामान जलेर नष्ट भएको छ।
आगलागीको सूचना पाएलगत्तै जनकपुरधाम उपमहानगरपालिका र नेपाल प्रहरीको बारुण यन्त्र घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
हालसम्म आगलागीको कारण खुल्न सकेको छैन। आगलागीबाट भएको क्षतिको विवरण र आगलागीको यथार्थ पत्ता लगाउन प्रहरीले अनुसन्धान गरिरहेको छ।