अप्पन जनकपुर
वीरगंज । वीरगंज युवा समाजको आयोजनामा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रतिविम्बित स्टिकर टाँस्ने कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । वीरगंजको तिलावे पुल केहुनियामा आयोजना गरिएको कार्यक्रममा करिब ९०० साइकलमा प्रतिविम्बित स्टिकर टाँसिएको छ ।
कार्यक्रम वीरगंज युवा समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । सह-आयोजकका रूपमा जिल्ला ट्राफिक कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ता र वडा प्रहरी कार्यालय श्रीपुरको संयुक्त सहयोग रहेको थियो ।
विशेष अतिथिहरूको उपस्थिति
कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी ईन्सपेक्टर निरज चौलागाईं, जिल्ला ट्राफिक कार्यालय पर्साका इन्चार्ज प्रहरी ईन्सपेक्टर लोकराज भट्ट, वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी ईन्सपेक्टर श्याम कुमार बस्नेत, पोखरियाका प्रहरी कार्यालय प्रमुख प्रहरी ईन्सपेक्टर स्वरूप शर्मा र समाजसेवी दिलीप कार्की लगायत विभिन्न युवा समाजका सदस्यहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमका गतिविधिहरू
कार्यक्रमका क्रममा जिल्ला ट्राफिक कार्यालय पर्साले प्रोजेक्टरको माध्यमबाट सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक भिडियो क्लिपहरू प्रदर्शन गरेको थियो । कार्यक्रमले साइकल प्रयोगकर्ताहरूलाई प्रतिविम्बित स्टिकर प्रयोग गर्न अभिप्रेरित गर्दै सडक सुरक्षामा सहयोग पुर्याउने उद्देश्य राखेको थियो ।
अध्यक्षको प्रतिबद्धता
वीरगंज युवा समाजका अध्यक्ष संजीव थापाले समाजका लागि प्रत्यक्ष फाइदा पुर्याउने यस्ता कार्यक्रम भविष्यमा पनि निरन्तर आयोजना गरिने बताए । ट्राफिक कार्यालय पर्साका इन्चार्ज प्रहरी ईन्सपेक्टर लोकराज भट्टले चालकहरूलाई दुर्घटना न्यूनीकरणका उपायहरू अपनाउन सचेत गराउँदै परामर्श दिएका थिए ।
कार्यक्रमले सवारी दुर्घटना कम गर्न र ट्राफिक सुरक्षाबारे जनचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको स्थानीयवासीले बताएका छन् ।