वीरगन्ज । आदर्शनगरको एक गोदाममा सशस्त्र प्रहरीले छापा मारेर ५० लाख रुपैयाँभन्दा बढी मूल्यको कपडा र हार्डवेयरका सामानहरू नियन्त्रणमा लिएको छ ।
भारतबाट भन्सार राजश्व छलेर वीरगन्जमा ल्याई गोदममा भण्डारण गरिएको आशंकामा सशस्त्र प्रहरीले ५० लाख रुपैयाँभन्दा बढी मूल्यको कपडा र हार्डवेयरका सामानहरू नियन्त्रणमा लिएको हो । सोमबार बिहान ७ बजेतिर प्रतावित सीमा सुरक्षा गुल्म वीरगन्जका सशस्त्र प्रहरी डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा खटिएको टोलीले आदर्शनगरको ट्रान्सपोर्ट क्षेत्रमा रहेको एक गोदाममा छापा मारेको थियो ।
त्यसक्रममा गोदमभित्र भण्डरण गरी राखिएका ३० पोका कपडा र हार्डवेयरका सामानहरू सशस्त्र प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी डिएसपी नरेन्द्र सिंह धामीले जानकारी दिए ।
नियन्त्रणमा लिइएका ती सबै सामान भन्सार राजश्व छलेर चोरी पैठारी गरेर ल्याइएका सामानहरू रहेको उनले दाबी गरे । बरामद कपडा र हार्यवेयरका सामानको बजार मूल्य ५० लाख ९३ हजार ७ सय रुपैयाँ रहेको पनि जानकारी दिँदै उनले ती सबै सामान आवश्यक कारबाहीका लागि सोमबार अपरान्ह वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको बताए ।
सोमबार आदर्शनगरबाट सशस्त्र प्रहरीले छापा मारेर सामान बरामद गरेको गोदाम ट्रान्सपोर्ट कारोबारी सन्तोष साहको रहेको स्रोतले जनाएको छ । तर, सशस्त्र प्रहरीले भने गोदाम धनीको नाम भने खुलाएको छैन ।