सिरहा । विद्यार्थीको ताँती छ । ती विद्यार्थीहरूलाई कसैले केही सिकाउन परेको छैन । उनीहरू आफैं तरहतरहका प्रस्तुति देखाइरहेका छन् । झट्ट हेर्दा लाग्छ, उनीहरू कडा मेहनत गरी तयार पारिएका प्रशिक्षित सेना हुन् ।
कोही नाचिरहेका छन्, कोही खेलिरहेका छन्, अनि अनेक अनेक कला देखाइरहेका छन्, अतिथि र दर्शकलाई छक्क पार्नेगरी । मिर्चैयामा अवस्थित सगरमाथा उच्च माध्यमिक विद्यालयमा बुधबार देखिएको दृश्य हो यो । सगरमाथामा यस्तै दृश्य बुधबारदेखि आगामी सरस्वती पुजाको दिनसम्म देख्न सकिनेछ । सगरमाथाले विद्यार्थीहरूको प्रतिभा प्रष्टफुटनका निम्ति सप्ताहव्यापी ‘इसीए-२०८१’ नामक कार्यक्रम आयोजना गरेको हो ।
यस कार्यक्रममा पीजीदेखि कक्षा १२ सम्मका विद्यार्थी सहभागी भएर आफ्नो प्रतिभा देखाउने छन् । विद्यालय प्रशासनका अनुसार विद्यार्थीहरू खेलकुद, सांस्कृतिक कार्यक्रम, चित्रकला, नृत्य, संगीत, नाटकलगायतका गतिविधिमा सरिक हुनेछन् ।
विजेता समूह र विद्यार्थीलाई हरेक दिन विद्यालयले पुरस्कृत पनि गरिरहेको छ । यसैगरी, सगरमाथाले ती क्रियाकलापमा अंग्रेजी र नेपालीसँगै स्थानीय भाषाको विकास अनि प्रवर्द्धनका लागि मैथिली भाषाको पनि अनिवार्य प्रयोग गर्दै पृथक अभ्यास सुरु गरेको छ ।
यस्तो कार्यक्रम विद्यार्थीहरूको सिर्जनात्मकता, नेतृत्व क्षमता, समूहमा काम गर्ने सीप, आत्मविश्वास आदि विकास गर्नका लागि उपयोगी हुने विद्यालयका सञ्चालक प्रदीप तिवारीको विश्वास छ ।
सगरमाथाले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि कति काम गर्न सक्यो, यहाँका विद्यार्थी अतिरिक्त क्रियाकलापमा कति अब्बल छन् भन्ने कुरा पनि यो कार्यक्रमले प्रमाणित गरेको र यसले खुशी तुल्याएको तिवारीको भनाइ छ ।
राष्ट्रियस्तरमा प्रतिष्ठा कमाएको २०४६ सालमा स्थापित सगरमाथा उच्च माध्यमिक विद्यालयमा अहिले कक्षा पीजीदेखि स्नातकसम्ममा २५ सय हाराहारी विद्यार्थी अध्ययनरत छन् ।