अप्पन जनकपुर
जनकपुरधाम । मधेसमा दाइजो प्रथाको विरोधमा आवाज उठाउनेहरू धेरै भए पनि व्यवहारमा त्यसलाई लागू गर्नेहरू निकै कम छन् । यस्तो परिस्थितिमा, युवा पत्रकार काशिन्द्र शर्माले एक रुपैयाँ पनि दाइजो नलिई आदर्श विवाह गर्दा समाजमा नयाँ उदाहरण प्रस्तुत गरेका छन् ।
कमला नगरपालिका–२ माची झिटकहिया निवासी पत्रकार काशिन्द्र शर्मा र क्षिरेश्वर नगरपालिका–९ निवासी सत्यनारायण ठाकुरकी छोरी सुलम शर्माबिच बिना दाइजो तथा अनावश्यक खर्च सम्पन्न भएको विवाह सम्पन्न भएको हो ।
मधेसमा दाइजो प्रथाको अन्त्यको विषय सामाजिक सञ्जाल र भाषणमा मात्र सीमित भइरहेको देखिन्छ । व्यवहारमा भने पढेलेखेका तथा जागिरे युवाहरू नै मोटो दाइजो लिएर यो कुप्रथालाई बल पुर्याइरहेका छन् ।
विशेष गरी, पछिल्लो समय सरकारी जागिरे युवाहरू दाइजो लिने होडबाजीमा लागेको पाइन्छ । कतिपय विवाहहरू आदर्श विवाहको रूपमा प्रचार गरिए पनि, गोप्य रूपमा दाइजोको लेनदेन जारी नै रहन्छ । साथै, टेन्ट, डिजे, कपडा, गरगहना, खानपिन जस्ता अनावश्यक खर्चहरूको भार छोरी पक्षलाई बोकाउने प्रवृत्ति कायमै छ ।
यस्तो अवस्थामा, पत्रकार काशिन्द्र शर्माले बिना दाइजो विवाह गरेर समाजमा सकारात्मक परिवर्तनको सन्देश दिन खोजेका छन् ।
पत्रकार काशिन्द्र शर्मा मधेस प्रदेशका चर्चित अनलाइन न्यूज पोर्टल ‘न्यूज ब्युरो नेपाल’ का सञ्चालक/सम्पादक हुन् । सामाजिक विषयहरूमा निर्भीक रूपमा कलम चलाउँदै आएका शर्माले आफ्नै जीवनमार्फत समाज सुधारको सन्देश दिएका छन् ।
दाइजो रहित विवाहको महत्त्वपूर्ण निर्णय लिँदै समाजमा उदाहरणीय कार्य गर्ने पत्रकार काशिन्द्र शर्मा र सुलम शर्मालाई सफल वैवाहिक जीवनको हार्दिक शुभकामना ।