जनकपुरधाम । सामूहिक बलात्कारपछि मृत्युवरण गरेकी सिरहा नवराजपुरकी रिंकु सदायको घर पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले जसरी पनि न्याय दिलाउने आश्वासन दिएका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड आज विहान नवराजपुर गाउँपालिका ५ भगवतीपुरस्थित रिंकुको घर पुगेर पीडित परिवारको अबस्था र घटनाबारे जानकारी लिए । सो क्रममा प्रचण्डले घटना अत्यन्त दुःखद् रहेको भन्दै जसरी पनि न्याय दिलाएर छाड्ने आश्वासन दिए ।
प्रचण्ड पुग्दा आँगनमा रिंकुका बुवा बिजुली सदाय, आमा सीता सदाय र सानीआमा श्रीबती सदाय हात जोडेर उभेको थियो । रिंकुको मृत्यूपछि आमा–बुवा अझै अचेत जस्तै छन् । उनीहरु केही बोल्न सकेनन् ।
रिंकुकी सानीआमा श्रीवतीले प्रचण्डलाई भनिन्, ’रिंकुले न्याय पाउनुपर्छ । र, दोषीमाथि कारबाही हुनुपर्छ ।’ उनले चार दिनसम्म लाश लिएर अलन्तारमा परेको पीडा पोखिन् । उनले पोस्टमार्टम रिपोर्ट पनि दिन नमानेको गुनासो गरिन् ।
प्रचण्डले तपाईको माग जायज रहेको र दोषीलाई कारबाहीका लागि आफूपनि संघर्ष गर्ने बताए । उनले भने, ’जाहेरी परिसकेको छ । पुलिस पनि खोज्दैछन् । हामीले पनि छिटो खोजेर कारबाही गर्न पुलिसलाई भन्छौं ।’
तराई–मधेस जागरण अभियान अन्तर्गत शुक्रवार राति सिरहा पुगेका प्रचण्डसहितका नेताहरु आज रिंकुको घर पुगेका थिए ।
गत माघ २७ मा शोच गर्न बाहिर निस्केकी १७ वर्षीया रिंकुलाई तीन किशोरले अपहरण गरी सामुहिक बलात्कार गरेको थियो । घटना दबाउन स्थानीयले पंचायतमार्फत पीडित परिवारलाई धम्काएको विहानपल्टै रिंकु आफ्नै घरमा मृत फेला परेकी थिइन् ।
पीडित परिवारले बलात्कार आरोपमा तीन किशोर र पंचायत गरेका पाँच पञ्चमाथि किटानी जाहिरी दिएका छन् । तर आरोपी कोही पक्राउ पर्न सकेका छैनन् । प्रहरीले जाहेरी बाहिरका तीन पञ्चलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।