अप्पन जनकपुर
जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा केही सातादेखि लामखुट्टेको आतङ्कले सर्वसाधारण जनता आजित भएका छन् । जनकपुरधाम उपमहानगर क्षेत्रमा गर्मीको सुरूआतसँगै लामखुट्टेको प्रभाव देखिएकाले यहाँका सर्वसाधारण बिहान र साँझको समयमा निकै सास्ती पाउँदै आइरहेका छन् ।
होलीको समयमा सरसफाइका कर्मचारी बिदामा भएकाले पनि उपमहानगरको भित्री सडकमा फोहरमैला उठ्न सकेको थिएन । त्यहीे कारणले पनि लामखुट्टेको प्रभाव झनै बढेको हो । जाडो मौसमको अन्त्य र गर्मी मौसमको सुरूआती भएकाले पनि लामखुट्टेको प्रभाव झनै देखिएको हो ।
जनकपुरधाम उपमहानगर वडा नं. २ शिव चोकमा व्यापार गर्दै आइरहेका राकेश साह पनि अत्यधिक मात्रामा जनकपुरधाममा लामखुट्टे देखिए पनि जनकपुरधाम उपमहानगरले लामखुट्टेको स्प्रे छर्किनलाई बेवास्ता नगरेको बताए । साँझ र बिहानको समयमा बाहिर बसिसक्नुछैन, उनले भने, यतिविघ्न लामखुट्टे आउँदा पनि उपमहानगर के हेरेर बसेको छ । साह मात्रै होइन, जनकपुरधाम उपमहानगर वडा नं. ४ पुजन झा पनि लामखुट्टेको आतङ्कबाट आजित भएको गुनासो गर्छन् ।
एक त जनकपुरधामको नाला खुल्लै छ । जसको कारणले लामखुट्टेको आतङ्क बढेको बढ्यै छ, उनले भने, मेयरसाबले जनकपुरधामलाई स्वच्छ र सफा बनाउँछु भन्नुहुन्छ । यहाँ त मच्छडगञ्ज भइसक्यो । डेङ्गी ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने सरूवा रोग हो ।