सन्तोष यादव
जनकपुरधाम । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ७ बाट देशभर सुरू हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले सम्पूर्ण तयारी पूरा गरिसक्दा मधेस प्रदेशमा भने एसईई परीक्षा विवादित बन्ने देखिन्छ ।
मधेसका मुख्यमन्त्री सतिश सिंहले मंगलबार पत्रकार सम्मेलन गरी एसईई परीक्षा प्रक्रियालाई ‘वहिष्कार’ गर्ने घोषणा गरिसकेका छन् । उनको यस्तो घोषणापछि के अब परीक्षा सञ्चालनमा असर पर्छ? भन्ने जिज्ञासा धेरैको छ । तर, परीक्षा प्रक्रियामा सामेल नहुने मुख्यमन्त्रीको घोषणाले असर नपर्ने उनीहरूको दाबी छ ।
मधेश प्रदेशका आठ जिल्लामा ३१२ परीक्षा केन्द्र र सोही संख्यामा केन्द्राध्यक्ष तोकिएको छ । यस्तै ४५९ सहायक केन्द्राध्यक्ष, ४ हजार ३७० निरीक्षक, ७५५ परीक्षा सहायक र एक हजार ६६६ कार्यालय सहयोगी खटाइनेछ । यस प्रदेशबाट ८८ हजार ८५८ परीक्षार्थी एसइई परीक्षामा सामेल हुँदैछन् । सबभन्दा बढी धनुषाबाट १३ हजार ६५४ र सबभन्दा कम सप्तरीबाट ८ हजार ७१५ परीक्षार्थी एसइईमा सहभागी हुने शिक्षा विकास निर्देशनालय मधेश प्रदेशले जनाएको छ ।
मुख्यमन्त्री सिंहले किन गरे वहिष्कार गरे?
एसईईलाई मर्यादित बनाउने पक्षमा आफू लागेको मुख्यमन्त्रीको दाबी छ । उनले केही दिनअघि परीक्षा समन्वय समितिको संयोजक तथा प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरूको भेला डाकेका थिए । त्यहाँ उनले यस वर्ष गोलाप्रथाबाट केन्द्राध्यक्ष तोक्न निर्देशन दिए ।
परीक्षा केन्द्रमा मोवाइल पूर्णत: निषेध गर्ने, फेला परे जफत गरी नष्ट गर्ने निर्देशन पनि दिएका थिए । साथै परीक्षा मर्यादित गर्ने केन्द्राध्यक्षलाई पुरस्कृत गर्ने र अमर्यादित बनाउने केन्द्राध्यक्षलाई दण्डित गर्ने घोषणा पनि गरे ।
सम्बन्धित विद्यालयकै प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोक्ने विगतको परिपाटीले आर्थिक चलखेल र परीक्षा अमर्यादित हुने मुख्यमन्त्रीको भनाइ थियो । भेलामा उपस्थित सीडीओ (जिल्ला परीक्षा समन्वय समितिका संयोजक) हरूले पनि मुख्यमन्त्रीको निर्देशनअनुसार काम गर्ने वाचा गरे । तर, आठै जिल्लाका सीडीओ हरूले राष्ट्रिय परीक्षा बोर्डको निर्देशिकाको प्रावधानलाई नै टेकेर केन्द्राध्यक्ष नियुक्त गरेपछि मुख्यमन्त्री असन्तुष्ट बनेका हुन् ।
परीक्षा केन्द्र तोकिएको विद्यालयकै प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नियुक्त गर्ने बोर्डको निर्देशिकामा उल्लेख छ ।
बोर्डको निर्देशिका बमोजिम केन्द्राध्यक्ष नियुक्त गर्न लागेको सुइँको पाएपछि मुख्यमन्त्री सिंहले आइतबार राति विज्ञप्ति जारी गरे । उनले एसईई परीक्षा मर्यादित बनाउन आफूले दिएको निर्देशन विपरीत केन्द्राध्यक्ष नियुक्त गरिए परीक्षा प्रक्रियाबाट अलग्गिने चेतावनी दिएका थिए ।
अन्ततः मुख्यमन्त्री सिंहले एसईई परीक्षा प्रक्रियामा मधेस सरकार सामेल नहुने घोषणा गरे । संघ र प्रदेशको निर्देशनविपरीत केन्द्राध्यक्ष तोकिएको विषयमा गहिरो छानबिन गर्नुपर्ने उनको माग छ ।
मुख्यमन्त्रीको घोषणाको असर के पर्छ?
महोत्तरीका सीडीओ लालबाबु कवारी भन्छन्, ‘केन्द्राध्यक्ष कसरी नियुक्त भयो? तपाईँहरूलाई थाहै छ । पहिलेकै प्रक्रियाअनुसार नियुक्त गरेका छौं ।’
आफ्नो निर्देशन नमानेको भन्दै प्रदेश सरकार परीक्षा प्रक्रियामा सामेल नहुने मुख्यमन्त्रीको घोषणाको जिज्ञासामा उनले भने, ‘हामी आफ्नो तरिकाले गरिराखेका छौं । हामीले हाम्रो जिम्मेवारी पूरा गर्यौं । उहाँहरू (मुख्यमन्त्री) आफ्नो तरिकाले गरिराख्नुभा’छ ।’
सिरहाका सीडीओ वासुदेव दाहालले मधेस सरकार परीक्षा प्रक्रियामा सामेल नहुने मुख्यमन्त्रीको घोषणाले परीक्षामा असर नपर्ने बताए ।
उनले भने, ‘परीक्षा किन सञ्चालन हुँदैन र? परीक्षा हुन्छ ।’
शिक्षक संघ/संगठन के भन्छन्?
मुख्यमन्त्रीले गोलाप्रथाबाट केन्द्राध्यक्ष तोक्न निर्देशन दिएपछि शिक्षक संघ/संगठनहरूले त्यसको विरोध गरे । राष्ट्रिय परीक्षा बोर्डको निर्देशनअनुसार केन्द्राध्यक्ष नियुक्त नगरिए परीक्षा वहिष्कार गर्ने चेतावनी शिक्षक शिक्षक नेताहरूले दिए । त्यसपछि दोहोरो दबाबमा परेका सीडीओहरू अन्ततः निर्देशिकाबमोजिम केन्द्राध्यक्ष नियुक्त गर्न बाध्य भएको स्रोतले जनायो ।
मुख्यमन्त्रीको निर्देशन नै ऐन कानूनविपरीत रहेको नेपाल शिक्षक संघका धनुषा अध्यक्ष रामस्नेही यादवले बताए ।
उनले भने, ‘मुख्यमन्त्रीले निर्देशन दिएर त हुँदैन । त्यसका लागि त राष्ट्रिय परीक्षा बोर्डको निर्देशिका नै बदल्नुपर्छ ।’
मुख्यमन्त्रीले राजनीतिक हिसाबले निर्देशन दिएको हुनसक्छ भन्दै उनले प्रश्न गरे, ‘जबसम्म निर्देशिका परिवर्तन गरिँदैन, तबसम्म कसरी गोलाप्रथाबाट केन्द्राध्यक्ष नियुक्त गर्न सकिन्छ?’
‘नियम कानूनभन्दा ठूलो यो देशमा कोही छैनन्’, अध्यक्ष यादवले भने, ‘बोर्डको निर्देशिका बमोजिम परीक्षा सञ्चालन हुनुपर्छ । सरोकारवाला व्यक्तिले नै प्रेस कन्फेरेन्स गरेर नियम कानूनविपरीत कुरा गरेपछि भयत्रास र निराशा उत्पन्न गराएको छ ।’
उनले परीक्षा मर्यादित बनाउने कुरामा भने आफूहरू गम्भीर रहेको र त्यसमा लाग्नुपर्ने बताए ।