अप्पन जनकपुर
जनकपुरधाम । ग्रेटर मधेश मिडिया प्रालिद्वारा सञ्चालित रेडियो धनुष ९९.७ मेगाहर्जले आफ्नो ५ औं वार्षिकोत्सव धुमधामका साथ मनाएको छ । धनुषाको ग्रामीण क्षेत्र धनुषाधामबाट सञ्चालित यो एफएमले स्थापनाकालदेखि नै स्थानीय समुदायका मुद्दाहरूलाई उजागर गर्दै आएको छ ।
वार्षिकोत्सव कार्यक्रममा मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो । उहाँले सम्बोधन गर्दै सञ्चारकर्मी सत्ताको अगरबत्ती बन्नुभन्दा जनताको मैनवत्ती बन्नुपर्ने बताउनुभयो । उहाँका अनुसार सञ्चार जगतले सधैं सत्य, निष्पक्षता र जनहितका मुद्दालाई प्राथमिकता दिनुपर्छ । उहाँले थप्दै भन्नुभयो, सञ्चारमाध्यम जनताको आवाज बन्नुपर्छ, सामाजिक अन्याय, विभेद र दुःखका कुराहरू उजागर गर्दै समाधानतर्फ अघि बढ्नुपर्छ । मिडियाले समाजको ऐना भएर काम गर्नु आवश्यक छ ।
त्यस्तै, सबैला नगरपालिकाका नगर प्रमुख कारीराम यादवले पनि कार्यक्रमलाई सम्बोधन गर्दै आर्थिक संकटका कारण थुप्रै एफएम रेडियो बन्द भइरहेको बेला ग्रामीण क्षेत्रबाट सञ्चालित रेडियो धनुषले समुदायका समस्या उजागर गर्ने महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । उहाँले स्थानीय स्तरका यस्ता संचार माध्यमहरूलाई संरक्षण गर्न राज्यको ध्यान जानुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा स्थानीय समाजसेवी, पत्रकार, बुद्धिजीवी तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै रेडियोका सञ्चालक तथा सञ्चारकर्मी मुकेश कुमार ठाकुरले विज्ञापनदाता, शुभेच्छुक र वार्षिकोत्सव कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले आगामी दिनमा पनि रेडियो धनुषले सामाजिक जागरणका मुद्दालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।