काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राजतन्त्र अब नफर्किने बताएका हुन्। जनकपुरमा आयोजित एक कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले नेपालमा राजतन्त्र फर्किन्छ भनेर प्रचार गरिएको भए पनि अब राजतन्त्र र राणातन्त्र फर्किन सम्भव नरहेको बताएका हुन्।
उनले आफ्नो सीमालाई पूर्वराजाले बुझ्नुपर्ने बताए। उनले राजतन्त्र अस्वीकृत भइसकेको उल्लेख गरे।
उनले नेपालको अन्तिम राजा ज्ञानेन्द्र शाह भएको बताए। गणतन्त्रको जग बलियो भएकाले कसैले हल्लाउन नसक्ने जिकिर गरे।
उनले भने, अरु देशमा राजतन्त्रको अन्त्य हुँदा राजाहरुको कस्तो दुर्गती भएको छ नमान्दाखेरी, त्यो इतिहासमा प्रमाणित छ। त्यसैले आफ्नो सीमालाई राजाले बुझ्नुपर्यो।
उनले भने, कसरी गणतन्त्र आएको हो त्यो बुझ्नुपर्छ। यसको जग बलियो छ, यो जगलाई कसैले हल्लाउन सक्दैन। नेपालमा राजतन्त्र फर्कियो, फर्कियो, फर्कियो, नेपालमा राजशाही आयो, आयो, आयो भन्छन्। सबै बोलिरहेका छन्। तर नेपालमा म भन्छु, नेपालमा राजतन्त्र, राणाशाही आउँदैन, आउँदैन, आउँदैन।