जनकपुरधाम । भगवान् मर्यादा पुरुषोत्तम श्री रामको जन्मोत्सव अर्थात् रामनवमी जनकपुरधाममा विशेष पूजा गरी मनाइँदैछ । जनकपुरस्थित राम मन्दिर, जानकी मन्दिर तथा राजदेवी मन्दिरसहित अन्य ठाउँमा पूजा गर्ने श्रद्धालुहरुको घुइँचो लागेको छ ।
रामनवमीका दिन गंगासागरमा स्नान गरी राम र जानकी मन्दिरमा पूजा गर्नाले मनोवाच्छित फल प्राप्त हुने जनविश्वासका साथ श्रद्धालुहरु पूजा गर्ने गर्दछन् ।रामनवमीका लागि नेपाल र भारतबाट दुई सयभन्दा बढी साधुहरु जनकपुरधाम आएको गुठी संस्थान जनकपुरधामले जनाएको छ ।
रामनवमीलाई लिएर राम मन्दिर र जानकी मन्दिरलाई विशेष रुपले सजाइएको छ । भने, एक साता अघिदेखि नै दुवै मन्दिरमा बधाई गान सहितका कार्यक्रमहरु भइरहेको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले बताए । राम मन्दिरका महन्थ राम गिरीले रामको ससुराली भएका कारण पनि जनकपुरधाममा रामनवमी विशेष उत्सवका साथ मनाइने गरेको जानकारी दिए । रामनवमी पर्वको केही दिन मात्रै बाँकी रहेको बेलादेखि जनकपुरधामको राम मन्दिर, जानकी मन्दिर लगायतमा श्रद्धालुहरुको घुंइँचो अत्यधिक बढेको छ ।
असत्यमाथि सत्यको विजय भएको सम्झनामा चैत्र शुक्ल नवमीका दिन श्रीरामलाई सम्झना गर्दै राम नवमी पर्व मनाइने गरिन्छ । राम मन्दिरको महन्थ राम गिरी राम नवमी पर्व नजिकिएसँगै प्रत्येक वर्ष दर्शनार्थी तथा साधुसन्तको आवागमनमा वृद्धि हुने गरेको बताउँछन् ।
राम नवमीको दिन जनकपुरधामको राम मन्दिरका साथै जानकी मन्दिर, जनक मन्दिर, लक्ष्मण मन्दिर, विवाह मण्डप लगायतमा श्रद्धालुहरुको विशेष घुइँचो लाग्ने गर्दछ । बिहानै गंगासागर, धनुषसागर, अंगराजसर, दशरथ तलाउ लगायतका सरोवरहरुमा स्नान गरेर भजन, कीर्तनसहित भक्तिभाव तथा पूजा पाठ गर्ने परम्परा रहेको छ । रामनवमी पर्वलाई लिएर राम मन्दिर र जानकी मन्दिरलाई सरसफाइ गरी सजाइएको छ । त्रेता युगमा राम नवमीका दिन अयोध्यामा श्रीरामको जन्म भएको कुरा विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।