काठमाडौं । शिक्षक महासंघले यथास्थितिमा सरकारसँग वार्ता नगर्ने अडान लिएको छ। बिहीबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले शुक्रबार वार्ताका लागि महासंघलाई आमन्त्रण गरेको थियो। तर महासंघ वार्तामा सहभागी भएन।शुक्रबार सिंहदरबारमा सरकारी टोली शिक्षक प्रतिनिधिको पर्खाइमा बसे पनि महासंघ अनुपस्थित रह्यो। यो दोस्रो पटक हो, जब सरकारले वार्ताका लागि बोलाएकोमा महासंघ गइरहेको छैन।महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले वार्ताबाट समाधान नआउने भन्दै समय बर्बाद नहुने बताउँदै भने, हामी फेरि वार्तामा जाँदैनौं। बरु त्यो समय शिक्षा ऐन निर्माणमा लगाउन आग्रह गरेका छौं।
अध्यक्ष सुवेदीले समाधानका लागि तीन विकल्प प्रस्ताव गरे:
१.अध्यादेशमार्फत निकास,
२.बर्खे अधिवेशन बोलाएर प्रक्रिया अगाडि बढाउने,
३.विशेष अधिवेशन आह्वान गरेर ऐन जारी गर्ने।
उनका अनुसार, ऐन निर्माण प्रक्रिया सुरु भएमा त्यसको विषयवस्तुमा छलफल गर्न महासंघ तयार छ। २०८० असोज ५ मा सरकारले महासंघसँग सहमति गरिसकेको भए पनि कार्यान्वयन नहुँदा आन्दोलन चर्किएको हो।महासंघले विगत दुई महिनादेखि चरणबद्ध आन्दोलन गर्दै आएको छ। यही आन्दोलनको क्रममा २० चैतदेखि देशभरका शिक्षकहरू काठमाडौंमा भेला भएर दैनिक विरोध प्रदर्शन गरिरहेका छन्।