अप्पन जनकपुर
वीरगञ्ज । भारतबाट अबैध रूपमा भन्सार छलि चोरी पैठारी गरी ल्याइएको लगभग ३५ लाख रुपैयाँ बराबरको कपडा र गाडी वीरगञ्जमा नियन्त्रणमा लिइएको छ ।
वीरगञ्ज महानगरपालिका–१६ स्थित भुटनदेवी मन्दिर नजिकबाट बा.प्र.०१-०२७ च ८५०३ नम्बरको सेतो पिकअप गाडीमा कपडा लोड गरी जितपुर–सिमरा तर्फ लैजान लागिएको कपडा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले दाबी गरेको छ ।
यद्यपि स्रोतका अनुसार कपडा लैजाने तस्करहरूको सशस्त्र प्रहरीसँग सेटिङ नमिलेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार गाडी बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–२३ स्थित भलुवाही गाउँमा २० बोरा कपडासहित नियन्त्रणमा लिइएको थियो ।
तर, गाडी नियन्त्रणमा लिनुअघि नै उक्त सामान पास गर्न ठुलो रकमको चलखेल भएको स्रोतले जनाएको छ । सेटिङ नमिलेपछि भलुवाही गाउँमा २० बोरा कपडासहित गाडी नियन्त्रणमामात्र भन्सार दाखिला गरिएको स्रोतको दाबी छ ।
गाडीमा लोड गरिएका कपडा सर्टिङ्ग–सुटिङ्ग, सारी र कुर्ता–सुरवाल रहेको छ जसको अनुमानित मूल्य १० लाख ७ हजार ९ सय रुपैयाँ छ भने गाडीको भन्सार मूल्य २५ लाख रुपैयाँ रहेको प्रहरीले दाबी गरेको छ ।
यसअघि सशस्त्र प्रहरीले वीरगञ्जका विवादित व्यवसायी मदन गुप्ता (रुन्चे) को गोदाममा छापामारी गरेपनि सेटिङ मिलेपछि प्रहरीले त्यहाँ केही नभेटिएको भनी दाबी गरेको स्रोतले जनाएको छ ।