अप्पन जनकपुर
जनकपुरधाम । प्रत्येक नयाँ वर्षको दिन मेला लाग्ने सिरहाको लहान नगरपालिका १२ र २२ को सिमानामा पर्ने सलहेश फूलबारीमा आज विशाल मेला लागेको छ । फूलबारीमा बिहानैदेखि श्रद्धालुको भीड लागेको छ ।
हरेक वर्ष नेपाल तथा भारतबाट लाखौँ श्रद्धालु मेलामा आउने र आज पनि उल्लेख्य सङ्ख्यामा आउने गरेका छन् । भक्तजनको भीड व्यवस्थित गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
नौ बिघा क्षेत्रफलमा फैलिएको प्राकृतिक, सांस्कृतिक एवं धार्मिक पर्यटकीय सलहेश फूलबारी क्षेत्र लहान बजारदेखि चार किलोमिटर दक्षिण-पश्चिममा पर्दछ । यहाँ मेला भर्न श्रद्धालु अघिल्लै दिनदेखि आउने गर्दछन् ।
सहलेश मन्दिरका पुजारी जितेन्द्र धामीका अनुसार १४ औँ शताब्दीका राजा सलहेसको सौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाको सम्झनास्वरुप प्रत्येक वर्ष वैशाख १ गते मेला आयोजना हुने गरेको हो ।
यहाँ नयाँ वर्षको एक दिनमात्र हारमको रुखमा सुनाखरी फुल्ने र सोही दिन साँझ परेसँगै ओइलाउने किंवदन्ती छ । त्यही फूल हेर्न तथा मन्दिरमा पूजापाठ गर्न धार्मिक पर्यटक आउने गर्छन् ।
सलहेश तराईका पासवान जातिको इष्टदेव रहेको र तेह्रौँ शताब्दीका लोकनायक भएकाले सलहेशको पूजाअर्चना गर्नाले सन्तान प्राप्ति, चर्मरोग, कुष्ठरोगलगायतका समस्या हरण हुने जनविश्वास रहेको पुजारी धामीले बताए ।
नेपाल सरकारले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न नयाँ पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरिसकेको छ । सलहेश क्षेत्रको उचित विकास गरी अपेक्षित लाभ लिन नसकिएको स्थानीय बताउँछन् ।