काठमाडौं । शिवम दुबे र एमएस धोनीको अर्धशतकीय साझेदारी सहितको फिनिसिङमा चेन्नई सुपर किङ्सले अन्तत: पाँच हारको शृंखला तोड्दै इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ ।
सोमबार भएको खेलमा चेन्नईले लखनउ सुपर जायन्ट्सलाई ५ विकेटले हरायो । लखनउले दिएको १६७ रनको लक्ष्य चेन्नईले ३ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गर्यो । दुबेले अविजित ४३ तथा धोनीले ११ बलमा अविजित २६ रन बनाए ।
१११ रनमा ५ विकेट गएपछि क्रिजमा आएका कप्तान धोनीले दुबेसँग मिलेर अविजित ५७ रनको साझेदारी गर्दै खेल जिताए । १२ बलमा २४ रन आवश्यक रहँदा १९औं ओभरको दोस्रो बलमा शार्दुल ठाकुरले नो बलसँगै छक्का बेहोरेपछि चेन्नईको जित लगभग निश्चित भएको थियो ।
त्यसअघि रचिन रविन्द्रले ३७ रन बनाए भने शैक रशीदले २७ रन बनाए । रवि विश्नोइले २ विकेट लिँदा आवेश खान, दिग्वेश राथी र एइडेन मार्क्रमले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १६६ रन बनाएको थियो । कप्तान रिषभ पन्तले सर्वाधिक ६३ रन बनाए । मिचेश मार्शले ३०, आयुष बदोनीले २२ तथा अब्दुल समदले २० रन बनाए ।
चेन्नईका रविन्द्र जडेजा र मथिसा पथिरानाले २-२ तथा खलिल अहमद र अन्शुल कमबोजले १-१ विकेट लिए ।
यस जितपछि ७ खेलमा ४ अंक भएको चेन्नई अंकतालिकामा १०औं स्थानमा यथावत् छ भने ७ खेलमा ८ अंक भएको लखनउ चौथोमा यथावत् छ ।