अमेरिका , वैशाख ८ । संयुक्त राष्ट्र संघको मुख्यालय न्युयोर्कमा आयोजित आदिवासी जनजातिहरुका मुद्दाहरुसम्बन्धी संयुक्त राष्ट्रसंघीय स्थायी मञ्चको चौविसौं सत्र ट्वान्टी फोर्थ सेसन अफ द युनाइटेड नेसन्स पर्मानेन्ट फोरम अन इन्डिजिनियस इस्यु [युएन- पिएफआइआई] को सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले त्यहाँ विभिन्न द्विपक्षीय भेटवार्तामा व्यस्त रहनुभएको छ ।
सो सम्मेलनमा मन्त्री गुप्ताले आज सोमबार विभिन्न देशका उपप्रधानमन्त्री, विदेश मन्त्री एवम् मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको हो ।
ती भेटहरूमा आपसी हित र चासोका विविध विषयहरूका साथै आगामी दिनमा थप सम्बन्ध विस्तार र सहकार्यबारे कुराकानी भएको थियो ।
‘ट्वान्टी फोर्थ सेसन अफ द युनाइटेड नेशन्स पर्मानेन्ट फोरम अन इन्डिजिनियस इस्यू’मा आर्थिक तथा सामाजिक विकास, संस्कृति र वातावरण संरक्षण तथा शिक्षा, स्वास्थ्य र मानवअधिकारसँग सम्बन्धित मुद्दाहरूका विषयमा आज व्यापक छलफल भएको छ ।
साथै, संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरू र संयुक्त राष्ट्र संघको प्रणालीभित्र आदिवासी जनताको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र कार्यान्वयन गर्ने विषयमा राम्रो अभ्यासहरूको पहिचान र चुनौतीहरूको सम्बोधन गर्ने प्रयत्न यो फोरमले गरेको छ ।
उहाँले गएको वैशाख ८ देखि १९ अर्थात् अप्रिल २१ देखि मे २ तारिखसम्म आयोजना हुने सो कार्यक्रममा सहभागिता हुनु भएको छ । उहाँ वैशाख १९ गते स्वदेश फर्किने कार्यतालिका छ ।