उमेश यादव | काठमाडाैं
धोती नै मेरो पहिचान
यो पोसाक लगाउँदा गर्व लाग्छ । किनकि, धोती–कुर्ता लगाउँदा आफ्नो पहिचान झल्किन्छ । भेषभुषा र संस्कृतिको संरक्षण हुनुपर्छ । म हरेक कार्यक्रममा यही पहिरनमा जान्छु । भीडमा मेरो पहिरन अलग्गै देखिन्छ । यात्रामा पनि म धोती–कुर्तामै हुन्छु । पहाडमा ब्राह्मणहरूले पूजापाठ गर्दा धोती लगाउँछन् । तर, मधेसको त यो विशेष पोसाक नै हो । थारू समुदायले पनि यही लगाउँछन् ।
खादीको धोती दिल्लीबाट ल्याउँछु
मैले लगाउने धोती ‘खादी’ कपडाको हो, जुन हातबाट बुनिन्छ । भारतका सबै प्रान्तका ग्रामीण उद्योगमा यस किसिमका कपडा बन्छन् । मचाहिँ दिल्ली गएका वेला ल्याउँछु । कहिलेकाहीँ दिल्ली पुगेका साथीहरूबाट पनि मगाउँछु । कहिलेकाहीँ कपडा ल्याएर नेपालमा सिलाउँछु ।
धोती लगाउने बानी परिसक्यो
अधिकांशले धोती लगाउन साह्रै झन्झट हुन्छ भन्छन् । मलाई भने लगाउन सहजै लाग्छ र निकै हलुका पनि हुन्छ । अब त बानी नै परिसक्यो । जाडो महिनामा अलि कम लगाउँछु । गर्मीमा भने सधैँ धोती–कुर्तामै हुन्छु । मसँग ८–१० जोर धोती–कुर्ता छन् । यसका साथमा ‘जवाहरकोट’ मेरो रोजाइमा हुन्छ ।
मैले लगाउने धोती ‘खादी’ कपडाको हो, जुन हातबाट बुनिन्छ । भारतका सबै प्रान्तका ग्रामीण उद्योगमा यस किसिमका कपडा बन्छन् । मचाहिँ दिल्ली गएका वेला ल्याउँछु ।
दोहोर्याएर लगाउन आइरन अनिवार्य
मेरो छिमेकमै ड्राइक्लिनर्स छ । धोती–कुर्ता त्यहीँ धुन दिन्छु । धुँदा अनिवार्य नीर हालिन्छ अनि सुकेपछि अनिवार्य आइरन गर्नुपर्छ । मुलायम हुने भएकाले धुन सहज छ । फैलाएर सुकाउँदा भने अलि बढी ‘स्पेस’ चाहिन्छ । धोतीमा पाइन्टमा जस्तो आइरन टिकिरहँदैन ।
धेरै महँगो छैन
धोती–कुर्ता धेरै महँगो होला भन्ने लाग्छ, तर होइन । एक सेटको बढीमा तीन हजार रुपैयाँसम्म पर्छ । सायद एक जोर पाइन्ट–सर्टकै दाम हो । मूल्यभन्दा पनि यसको व्यवस्थापन अलि जटिल छ ।
कमैले लगाउँछन्
नेपालमा धोती भन्नेबित्तिकै मधेसी र भारतीयको पोसाक भन्ने बुझिन्छ । तर, यो वस्त्रको नाम हो । यो एउटा समुदायको पहिचान झल्किने पोसाक हो । कार्यक्रमहरूमा कमैले धोती लगाएको देखेको छु । धोती लगाउँदैमा सानो भइन्छ जस्तो मान्ने पनि भेट्ने गरेको छु ।
पहाडमा लगाएर हिँड्न असहज
धोती पहाडी भेगमा लगाएको देखिँदैन । किनकि, पहाडमा धोती लगाएर हिँड्न अलि गाह्रो छ । उकाली–ओराली गर्दा धोतीमा अल्झिन सकिन्छ । पहाडमा जाडो हुने भएकाले पनि धोती उपयुक्तनहुन सक्छ ।