प्रमुख समाचार
जनकपुरधाम,६ बैशाख।जनकपुरधामको महावीरचोकको बाटोमा पैसा छरेर फरार भएका दुई महिलामध्ये एक जनाको (यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी)मा कोरोनाको सङ्क्रमण पोजेटिभ देखिएको छ।
कोरोना भाइरस संक्रमणको संत्रासकाबीच पैसा फालेर फरार भएको भनिएका महिलालाई नियन्त्रणमा लिई प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परिक्षणमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ।
उनीहरु दुबैजनाको अहिले पिसिआर टेस्ट भइरहको बताइएको छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार पक्राउ परेका दुवै जना जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ निवासी आमुना खातुन र अलिना खातुन रहेका छन् । उनी दुवै जना नातामा भाउजु र नन्द हुन् ।
ती महिलाले शुक्रबार दिउँसो वडा नं ५ महावीर चोकको सडकका विभिन्न ठाँउमा रु पाँच, रु १० र रु १०० दरका नोट छरेर फरार भएका थिए । स्थानीयले पैसा देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरीले सिसिटिभी फुटेजका आधारमा अनुसन्धान शुरु गरेको थियो । सिसिटिभी फुटेजमा मुख छोपेका दुई जना महिला देखिएपछि प्रहरीले तिनको खोजी तीव्र पारेको थियो । प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार सिसीटिभी फुटेज झिकाएर शङ्कास्पद देखिएका स्थानीयले भनेको हुलियाका आधारमा महिलाको खोजी गरिएको थियो । सोहीअनुसार आज करिब २ः३० बजे जानकी नगरबाट उनीहरुलाई पक्राउ गरिए थियो ।
पक्राउ गरे लगतै कोरोना संक्रमण परिक्षणकालागि दुबै जनालाई आरडिटी परिक्षणकालागि प्रादेशिक अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।