विपिन कुमार यादव,जनकपुरधाम,६ बैशाख : विश्वव्यापी महामारीको रुपमा निरन्तर फैलिरहेको कोरोना भाईरसको त्रासका कारण सबै क्षेत्र ठप्प भएको छ ।
यसबाट बचाउन नेपाल सरकारले गत चैत ११ गतेदेखि नै देशभर लकडाउन गरेको छ । लकडाउनको प्रत्यक्ष असर दैनिक मजदूरी गरि जिविकोपार्जन गर्दै आईरहेका कामदारहरु माथि परेको छ । लकडाउनका कारण उनीहरुको दैनिकीमा बढि प्रभाव परेको हो ।
यस्तै समस्याहरुलाई मध्यनजर गर्दै धनुषाको कमला नगरपालिकाका एक स्थानीयले सुपथ मूल्य पसल सञ्चालन गरेका छन् । स्थानीय तहको निर्वाचनमा मेयर पदको उम्मेदवार रहेका स्थानीय मनिक लाल मण्डलले आफ्नो नगरका जनताहरुको समस्यालाई ध्यानमा राख्दै १५ दिनदेखि सुपथ मूल्यमा दैनिक उपभोग्य सामग्रीको पसल संचालन गर्दै आइरहेका छन् ।
उनले भने,‘अहिलेको संकटपुर्ण अबस्थामा आफुले जोखिम मोलेर पनि आफ्ना नगरभित्रका जनतालाई सेवा दिन पाउँदा मलाई धेरै खुशी लागेको छ । अहिलेसम्म तेल,आलु,प्याज,मटर,चना,सर्फ,साबुनलगायतका करिब ७ लाख बढिको सामान बेचिसकेको छु ।
अहिलेपनि मेरो स्टोरमा ५ लाख भन्दा बढिको सामान बाँकी छ । स्थानीयलाई दैनिक उपभोग्य सामग्रीको कुनै अभाव हुँदैन् ।’ मनिक लालले आफ्नै गाउँका स्थानीय इशक कबाडी र अनिश कबाडीको सहयोगमा धनुषाको सबैला, यदुकोहा, ढल्केवर लगायतका ठाउँहरुबाट सामान खरिद गरि आफ्नो नगरमा उपलब्ध गराई रहेका छन् ।